विराटनगर: प्रदेश १ का जिल्ला अस्पतालहरुका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) हरुले व्यक्तिगत सुरक्षा उपकरण (पिपिई ) अभाव भएको बताएका छन् ।
प्रदेश सरकारबाट प्राप्त पिपिई पर्याप्त नभएको उनीहरुले बताएका छन् । स्थानीय स्तरबाट व्यवस्थापन भएको पिपिई पनि सकिएको उनीहरुको भनाई छ । जिल्लामा कोरोना संक्रमित बढेको खण्डमा पिपिई को अभावमा काम गर्न नसकिने उनीहरुले बताएका छन् । प्रदेश १ का जिल्ला अस्पतालहरुका मेडिकल सुपरीटेन्डेन्टहरुले पिपिई को तत्काल व्यवस्था गर्न प्रदेश सरकारसँग माग गरेका छन् ।
प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेसँग आज गरिएको भिडियो संवादमा मेडिकल सुपरीटेन्डेन्टहरुले सो कुरा बताएका हुन । मेसुहरुले अस्पतालहरुमा आकस्मिक, फिवर क्लिनिकसँगै नियमित सेवाहरुपनि सञ्चालनमा रहेको बताएका छन् । उनीहरुले विकास समितिबाट नियुक्त भएका र करारका स्वास्थ्यकर्मीहरुलाई प्रदेश सरकारबाट प्रोत्साहन भत्ता उपलब्ध गराउन पनि माग गरेका छन् । इलाम अस्पतालका मेसु डा.प्रमोद साहले पिपिईको अभाव भएको बताए । अभावकावीच सेवा दिईरहेको उनले बताए । विदेशबाट आएकाहरु र बाहिरी जिल्लाबाट आएकालाई अनिवार्य क्वारेन्टाईनमा राखिएको उनले बताए । जिल्लामा कोभिड १९ का लागि छुट्टै एम्वुलेन्सको व्यवस्था गरिएको उनले बताए ।
पाँचथर जिल्ला अस्पतालका मेसु डा.बुद्धिबहादुर थापाले पिपिई, एन ९५ मास्क अभाव भएको बताए । उनले आवश्यक जनशक्ति र बजेटको पनि अभाव भएको सुनाए । ताप्लेजुङ अस्पतालका मेसु डा. सनि लामाले अस्पतालमा दरवन्दी कम भएको बताए । अन्य जिल्ला अस्पताल सरह सेवा दिएपनि दरबन्दी कम भएको गुनासो गरे । जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख तथा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष घनेन्द्र मादेनले कोभिड १९ को व्यवस्थापनका लागि दैनिक काम भईरहेको बताए ।
भोजपुर जिल्ला अस्पतालकी निमित्त मेसु डा. पवित्रा श्रेष्ठले जिल्लामा आरडिटी किटको अभाव भएको बताइन् । पिपिई आफै व्यवस्थापन गरेर काम चलाईरहेको उनको भनाई छ । जिल्लामा संक्रमित बढेमा पिपिई अभाव हुने उनको भनाई छ । ओखलढुङ्गा जिल्ला अस्पतालका मेसु डा.सन्तोष देवले पिपिई र एन ९५ मास्कको अभाव रहेको बताए । धनकुटा जिल्ला अस्पतालका मेसु पुजन विश्वकर्माले स्थायी मात्रै नभएर सवै स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ताको व्यवस्था गर्न माग गरे ।
सुनसरी जिल्ला अस्पतालका मेसु डा. सन्तोष राईले अस्पतालले नियमित रुपमा स्वाव संकलन, फिवर क्लिनिक र मोवाईल क्लिनिक सञ्चालन गरिरहेको बताए । मेची अस्पतालका मेसु पिताम्वर ठाकुरले आईसोलेसनमा रहेका विरामीको लागि खाना खर्चको अभाव भएको बताए । सामाजिक विकास मन्त्रालयका सचिव रविलाल पन्थले कर्मचारी, स्वास्थ्य सामाग्री अभावको विषयमा ध्यानाकर्षण भएको बताए । थप जनशक्ति तत्काल व्यवस्थापन गर्न नसकिने उनले बताए ।
पिपिई सही सदुपयोग भएन:मन्त्री घिमिरे
सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश सरकारले पठाएको पिपिईको सही सदुपयोग नभएको बताए । स्वास्थ्यकर्मी भन्दा पनि जनप्रतिधिहरुले पिपिई लगाएर हिड्दा समस्या भएको उनले बताए । पिपिईको अभाव जिल्लामा मात्रै नभएर प्रदेश र केन्द्रमा पनि रहेको बताए । उनले शक्तिशाली देशहरुमा पनि पिपिई अभाव रहेको बताउदै भने,‘पिपिई प्रदेश सरकारले न्युनतमरुपमा व्यवस्थापन गरेको छ ।’
कस्ले कस्तो पिपिई लगाउने भनेर नबुझ्दा पनि समस्या भएको उनको भनाई छ । कोरोनाको त्रासका वीचमा पनि अस्पतालहरुले अत्यावश्कीय सेवासँगै नियमित सेवा र फिवर क्लिनिक सञ्चालन गरेकोमा उनले धन्यवाद पनि दिए । शुरुवातका दिनमा कोरोनाको आतंक स्वास्थ्यकर्मीमा देखिएपनि अहिले त्यो त्रास हटेर गएको आँफुले पाएको उनले बताए ।