धरान: ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा भएको भिषण आगलागी नियन्त्रण उन्मुख भएको छ ।
सुचना अधिकारीसमेत रहेका जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी केशव खतिवडाका अनुसार आगो एउटा तीन तले घरमा मात्र सिमित भएको छ । मध्य राती १२ बजेसम्म स्थानीय, सुरक्षाकर्मीहरुको अथक प्रयासले आगोलाई नियन्त्रणमा ल्याउन सकिने अवस्थामा पुर्याएको उनले बताए । ‘एउटा तीन तले घरमा मात्र आगो छ, वरीपरी कन्ट्रोल भइसक्यो,’खतिवडाले भने,‘त्यो घरमा किराना पसल र गोदाम पनि रहेछ । त्यहाँ पनि नियन्त्रणको प्रयास भइरहेको छ ।’
ताप्लेजुङका पत्रकार खगेन्द्र अधिकारीका अनुसार राती करिब साढे ९ बजेतिर आगलागी शुरु भएको थियो । फुङलिङको पुरानो बैकलाइन ट्याक्सी स्टेण्ड नजिकबाट आगलागी भएको थियो । आगोले साना ठुला गरी कम्तीमा १० घर जलेको पत्रकार अधिकारीको भनाई छ । यो समाचार तयार पार्दा(मध्यराती साढे १२ बजे)सम्म आगलागी पुर्णरुपमा नियन्त्रणमा आइसकेको छैन ।