धरान: नेकपाको स्थायी कमिटि बैठक यही बैशाख २५ गते बस्ने भएको छ ।
आज बसेको सचिवालय बैठकले बैशाख २५ गते ११ बजे काठमाण्डौंमा बस्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनाएर लैजाने पनि निर्णय गरेको उनले जानकारी दिए । बुधबारको बैठकमा गौतमलाई प्रधानमन्त्री ओलीले कोरोना संकट टरेपछि प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए । आजको निर्णयलाई सोही प्रस्तावलाई मुर्तरुप दिलाउनको लागि गरिएको हुनसक्ने बुझाई छ ।
प्रवक्ता श्रेष्ठले प्रतिनिधिसभा सदस्य भएपछि प्रधानमन्त्री हुने सम्भावनाको ढोका खुल्ला रहने पनि बताए । प्रधानमन्त्री ओलीले बुधबार वरिष्ठ नेता नेपाललाई तेस्रो पार्टी अध्यक्षको प्रस्ताव गरेका थिए । यो बिषयमा भने कुनै छलफल वा निर्णय नभएको श्रेष्ठले बताए ।
यस्तै, बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकार तथा पार्टी सञ्चालनको बिषयमा आफ्नो तर्फबाट भएको कमीकमजोरीको बिषयमा आत्माआलोचना गरेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनका अनुसार अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अन्य नेताहरुले पनि आआफ्नो कमीकमजोरीप्रति आत्माआलोचित हुदै अढी बढ्ने संकल्प गरेका थिए । बैठकले पार्टी एकताको पक्षमा दृढरुपमा रहने, पार्टी एकतालाई अझ बलियो बनाउने निर्णय गरेको पनि बताए ।