धरान: बाँदरको एउटा बच्चाको करेन्ट लागेर मृत्यु भएपछि आज बिहानै धरान बजारमा बाँदरको हुलले आतंक मच्चायो ।

कोशी राजमार्गमा प्राइम बैंक अगाडिको विजुलीको ट्रान्समिटरमा करेन्ट लागेर बिहानै बाँदरको एक बच्चाको मृत्यु भएको थियो । बच्चाको मृत्यु भएपछि सडकभरि ६० भन्दा बढी बाँदरहरु भेला भएका थिए । बाँदरहरुको कारण बिहानै करिब ५ बजेतिर उक्त सडकमा मानिसहरु ओहोर दोहोर गर्न पनि सकेका थिएनन् ।

शोकको कारण आक्रोशित बाँदरहरुले बाटोमा हिड्ने मानिसहरुलाई झम्टिरहेको र एक किसिमले आतंक मच्चिएको नगर प्रहरी निरीक्षक विष्णु कोइरालाले जानकारी दिए । ‘म बिहान ५ बजे पुगेको थिएँ, बाटोभरि बाँदरहरु थियो । दुध लिन हिडेका मानिसहरुलाई झम्टिरहेको थियो । म पनि नजिक पुग्दा झम्टियो,’उनले भने,‘लाठी र ग्याटिस् देखेपछि मात्र तितरवितर भयो, तर त्यो मर्ने बच्चाको आमा, बाउ चै त्यही बसिरह्यो ।’

करिब २ घण्टा पछि नगर प्रहरीको प्रयासमा मृत बच्चालाई उठाएर उपमहानगरको गाडीले लिएर गयो । बच्चाको आमा, बुबाले उक्त गाडीलाई पछ्याउदै गएको नगर प्रहरी निरीक्षक कोइरालाले जानकारी दिए । उनका अनुसार अन्य बाँदरहरु पनि आज एकदमै आक्रोशित मुडमा देखिएका छन् । त्यसैले आज कसैले पनि बाँदरलाई नचलाउन र नजिस्काउन उनले आग्रह गरेका छन् ।

‘बाँदरहरुले अहिले पनि बच्चा खोजेको खोजेकै छ, उनीहरु एकदमै बिच्किरहेकोले जतिबेला पनि आक्रमण गर्न सक्छ,’कोइरालाले भने,‘आज बाँदरलाई नचलाउन, नजिस्काउन अनुरोध गर्छु । बाँदरहरु बच्चाको शोकका छ, र हाउभाउ हेर्दा आक्रोशमा छ । बाँदरबाट जोगिन धरानबासीहरुलाई अनुरोध छ ।’