विराटनगर: उदयपुर ठेगाना भएका विरामीलाई उपचार नगरी रिफर गर्ने नोवेल मेडिकल कलेज विराटनगरलाई आवश्यक कारवाही गर्न माग गर्दै प्रदेश सामाजिक विकास मन्त्रीलाई ज्ञापन पत्र पेश भएको छ ।
उपभोक्ता हित संरक्षण मञ्च नेपाल विराटनगरले प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई ज्ञापनपत्र बुझाएको हो । नोवेल मेडिकल कलेजले अपराधपूर्ण कार्य गरेको भन्दै घटना छानविन गर्न मञ्चले संघीय र प्रदेश सरकारलाई अनुरोध गरेको छ । उदयपुर ठेगाना भएका विरामी देख्ने वित्तिकै विरामी अस्पतालबाट निकाल्ने काम गरेको भन्दै मञ्चले आपत्ति पनि जनाएको छ ।
विरामीलाई अन्यत्र पठाई जोखिममा पु¥याएको भन्दै गम्भिर त्रुटीपूर्ण र अमानविय कार्यमा संलग्न चिकित्सकलाई कारवाहीको दायरामा ल्याउन माग गरिएको छ । मञ्चका अध्यक्ष मीनराज ढकाल र सचिव मेघराज श्रेष्ठद्धारा जारी विज्ञप्तीमा निजी अस्पतालबाट पनि विरामीले उपचार पाउने कुराको सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।