धरान: कोरोना संक्रमितको संख्या अत्यधिक भेटिएपछि बाँके जिल्लाको नेपालगन्जमा भोलिदेखि पुर्ण निषेधित क्षेत्र भएको छ ।
आज सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले भोली(मंगलबार) बिहान ११ बजेदेखि वैशाख २५ गतेसम्म नेपालगञ्ज पुर्ण निषेधित क्षेत्र हुने निर्णय भएको हो । संक्रमणको जोखिम अझै विस्तार हुन नदिन बैठकले नेपालगञ्जलाई पुर्ण निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । बिहान ११ बजेदेखि लागु हुने पुर्ण निषेधित क्षेत्र घोषणा २५ गते मध्यरातिसम्म लागु हुने प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिएका छन् ।
यो समयमा अत्यावश्यक औषधी पसलबाहेक सबै पसल, व्यवसाय बन्द हुनेछ । नेपालगञ्जमा १६ जनामा कोरोना संक्रमित भेटिएका छन् । प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालको टोलीले आजै दिउँसो नेपालगञ्ज पुगेका थिए । उक्त टोलीले सुझाव दिएपछि सर्वपक्षीय तथा सर्वदलीय बैठक बसेको थियो ।