धरान: पर्सा जिल्लामा थप १७ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा १७ जनामा कोरोना पोजेटिभ भएको पुष्टि गरे । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको पनि उनले बताए । नयाँ संक्रमितहरु २ महिनाको शिशुदेखि ६६ बर्षसम्मका रहेको पनि डा.देवकोटाले बताए । नयाँ संक्रमितहरुमा १० जना पुरुष र ७ जना महिला छन् ।
यस्तै, प्रवक्ता डा.देवकोटाले अस्पतालमा उपचार पश्चात निको भएर डिस्चार्ज भई घर फर्किएका ३ जनामा पुनः कोरोना पोजेटिभ देखिएको पनि जानकारी दिए । उनका अनुसार बैशाख ११ गते डिस्चार्ज भएका काठमाण्डौंका एक पुरुषमा पुनः परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको पाटन अस्पतालमा भर्ना भएका छन् भने बैशाख १४ गते डिस्चार्ज भएका रौतहट र पर्साका २ जनामा पनि पुनः परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएकोले अस्पतालमा भर्ना गरिएको उनले जानकारी दिए ।