धरान: धरान १८ न. वडा कार्यालयले वीपी प्रतिष्ठानमा उपचार्थ मृगौला रोगी र चालकलाई बिहिवार राहत प्रदान गरेको छ ।
लकडाउनका कारण घर जान नपाएका २५ जना मृगौला रोगी र दैनिक गुजारा गर्न समस्यामा परेका १० जना ट्याक्सी चालकलाई वडा कार्यालयले राहत वितरण गरेको हो । विभिन्न जिल्लाबाट डायलासिस गर्न आएका उनीहरु चैत्र ११ गतेदेखि लकडाउन लागु भएपछि प्रतिष्ठान हाता भित्र रहेको भागवत प्रसाद श्रेष्ठ धर्मशालामा बस्दै आइरहेका छन् । लकडाउनका कारण घर जान नपाएर समस्यामा परेका धनकुटका, सुनसरी, मोरङ्ग, पाचथर, सप्तरी, उदयपुर र भोजपुरवाट आएकाहरुलाई राहत प्रदान गरिको वडाअध्यक्ष प्रविण राईले जानकारी दिए । राहत लिनका लागि विरामीको कुरुवा उपस्थित भएका थिए ।
यसैगरि, वीपी प्रतिष्ठान गेट अगाडि स्टेण्डमा रहने भेन चालकहरुलाई राहत वितरण गरिएको छ । दैनिक ज्यालादारीमा गुजारा गर्दै आइरहेकाहरु लकडाउनका कारण समस्यामा परेका चलाकहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान कमिटिको संयोजनमा राहत वितरण गरिएको हो । राहत स्वरुप उनीहरुलाई १० केजी चामल, २ केजी आलु, १ केजी नुन, १ केजी दाल र १ लिटर तेल प्रदान गरिएको छ ।
राहत सामग्री धरान १८ निवासी हाल हङकङमा कार्यरत विकास गुरुङ र उनकी श्रीमति राखी गुरुङले उपलव्ध गराएका हुन् । राहतसंगै उनीहरुले वीपी हस्पिटलका ४ सय जना कुरुवाहरुलाई साँझको खाना समेत खुवाएका छन् । गुरुङ दम्पतिले धरान १८ स्थित गुरुङ्ग गुम्वालाई नगद १५ हजार रुपैया पनि सहयोग गरेको सहयोग दाता विकास गुरुङले जानकारी दिए । राहत हस्तान्तरण कार्यक्रममा धरान १८ न. वडा समिति सदस्य जमुना त्रिखत्री मोक्तान, मजदुर संगठनका धरान उपमहानगर कमिटी अध्यक्ष कमल भट्टराई, मजदुर संगठन केन्द्रिय सदस्य लक्ष्मि वानिय, नेपाल फोटो पत्रकार महासंघ सुनसरी सचिव शिसिर राई लगायतको उपस्थिति रहेको थियो ।