धरान: सुनसरी उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय सुनसरीलाई क्वारेन्टाइन स्थापनाको लागि विभिन्न सामग्रीहरु सहयोग गरेको छ ।

कोरोना (कोभिड–१९) को रोकथामका लागि क्वारेन्टाइन निर्माण गर्न संघले सहयोग गरेको हो । संघले १५० थान तन्ना र १५० थान म्याट्रेस उपलब्ध गराएको छ । संघका अध्यक्ष गिरिधारी सापकोटा, द्वितीय उपाध्यक्ष अनिल अग्रवाल र महासचिव राजेश अग्रवालले यी सामग्रीहरु संयुक्तरुपमा प्रमुख जिल्ला अधिकारी राजेश पौडेललाई हस्तान्तरण गरेका थिए ।

जिल्ला प्रशासनले भविष्यमा सिमा नाका खुल्ला हुँदा वा भारतबाट नेपालीहरुको आवागमन भएको अवस्थामा ती व्यक्तिहरुलाई क्वारेन्टाईनका लागि राख्नका आवश्यक सामाग्रीहरु संकलन गरिरहेको छ । अहिले लकडाउनको कारण भारतमा अड्किएकाहरु खुला भएपछि ठुलो संख्यामा आउनसक्ने अनुमान छ । प्रजिअ पौडेलले विपद् व्यवस्थापनका लागि संघले विगतका दिनहरुमा पनि आवश्यक सहयोग गरिरहेको र यस्तो कार्यप्रति सदैव आभारी रहेको बताए ।