धरान: धरान ८ श्रीटोल स्थित सुनौलो महिला समुहले तालिम आयोजना गरेर बचत भएको पैसाले सडकबाट उद्दार गरिएका मानिसहरुलाई एक छाक खाना खुवाएको छ ।
समुहले धरान ८ स्थित लांघाली वन समुहको आवास गृहमा राखिएका मानिसहरुलाई खाना खुवाएको हो । समुहले हिजो बुधबार बिहानको एक छाक खाना खुवाएको हो । लांघाली आवास गृहमा धरान उपमहानगरपालिकाले सडकबाट उद्दार गरेक हाल ९५ जना मानिसहरु छन् । समुहका अध्यक्ष नन्दमाया थेवेका अनुसार समुहले अचार बनाउने तालिमको आयोजना गरी खर्च कटाएर बचत गरेको रकमले खाना खुवाएको हो । “वडा ८ को लक्षित वर्गको बजेटबाट अचार बनाउने तालिम यहाँका महिला दिदीबहिनीहरुलाई दिएका थियौं । त्यो कार्यक्रम सम्पन्न गरेर लगभग ११ हजार ३ सय बचत भएको थियो, त्यही रकमबाट हामीले लांघाली वनमा राखिएका मानिसहरुलाई खाना खुवायौ,”अध्यक्ष थेवेले भनिन् ।
उपमहानगरपालिकाले लकडाउनको समयमा पनि सकडमा वेवारिस बस्ने मानिसहरुलाई बैशाख १ गतेदेखि लांघाली आवास गृहमा राख्न थालेको हो । उनीहरु खुलेआम हिड्दा जोखिम हुने भएकोले उद्दार गरेर राखिएको र लकडाउन पछि व्यवस्थापन गर्ने उपमहानगरले जनाउदै आएको छ । उपमहानगरपालिकाको यो पहलप्रति सहयोग गर्न एक छाक खाना खुवाएको समुहकी सल्लाहकार लिला गुरुङले बताइन् । “सडक मानवहरु खुलेर हिड्दा जोखिम हुने भएकोले धरान उपमहानगरपालिकाले गरेको पहलप्रति हाम्रो पनि सानो सहयोग हुन्छ भनेर खाना खुवाएको हो,’कार्यपालिका सदस्यसमेत रहेकी उनले भनिन् ।
आवास गृहमा रहेका मानिसहरु समुहले खाना खुवाएकोमा औधी खुशी भएका थिए । उनीहरुले खाना खाए पछि भोज खाएको जस्तै अनुभव भएको प्रतिक्रिया दिएका थिए । ‘उहाँहरुको यस्तो प्रतिक्रिया सुनेपछि हामीलाई पनि राम्रो गरेछौं भनेर आत्मसन्तुष्टी मिल्यो,’समुहकी सदस्य सृजना राजभण्डारीले भनिन् ।