विराटनगर: उपचार पश्चात ८ जना कोरोना संक्रमित निको भएपछि आज अस्पतालबाट डिस्चार्ज भएका छन् ।
विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८ जना डिस्चार्ज भएका हुन् । डिस्चार्ज भएका ८ जना मध्ये ७ जना उदयपुरको त्रियुगा नगरपालिकास्थित भुल्केका हुन् भने १ जना भारतीय नागरिक हुन् । कोरोना मुक्त भएकामध्ये ७ जना पुरुषलाई रानीस्थित मस्जिदको क्वारेन्टाइनमा राखिने सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए । एक महिलालाई भने उदयपुर नै पठाइनेछ । यसअघि पनि सोही अस्पतालबाट ६ जना भारतीय डिस्चार्ज भएका थिए । उनीहरुलाई पनि लकडाउन अवधिभर रानीकै मस्जिदमा राखिएको छ ।
कोरोना संक्रमण पुष्टी भएपछि गत वैशाख ८ र ९ गते विराटनगर ल्याइएका १५ जनामा गरिएको स्वाव परीक्षणमा ८ जनामा कोरोना नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेन्टेन्ड डा. संगीता मिश्राले जानकारी दिइन् । डिस्चार्ज हुने ८ जनामा दुई पटकसम्म गरिएको स्वाव परीक्षणमा नेगेटिभ रिपोर्ट आएको उनले बताइन् ।
डिस्चार्ज हुनेमा उदयपुरका २० वर्षीय आजाद आलम, १८ वर्षीय मो.इमरान अहमद, १८ वर्षीय परवेश आलम, ४१ वर्षीय मुख्तार मियाँ, ५५ वर्षीया रौशन खातुन विराटनगरका ७२ बर्षीया आइनो मियाँ, ६० वर्षीय इजरायल मियाँ र भारत दिल्लीका २४ वर्षीय मो.आदिल रहेका छन् । अस्पतालमा अव १७ जना उपचाररत रहेका छन् ।