विराटनगर: कोभिड १९ उपचार केन्द्र विराटनगरमा गत वैशाख ५ गते विरामी आएपछि उपचारमा खटिएका २५ जना स्वास्थ्यकर्मीहरु आज डिस्चार्ज भएका छन् ।
इष्टर्न स्टार होटेलको क्वारेन्टाईनमा रहेका स्वास्थ्यकर्मीको टोलीलाई सामाजिक विकास मन्त्री जीवन घिमिरे, मन्त्रालयका सचिव रविलाल पन्थ, कोशी अस्पतालकी मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्राले विदाई गरेका थिए । चिकीत्सकको साहसका कारण कोरोनालाई परास्त गर्न सफल भएको मन्त्री घिमिरेले बताए । प्रदेश १ सरकारले कोरोना उपचारका लागि गरेको कामको संघीय सरकार र अन्य प्रदेश सरकारहरुले चासोका साथ लिएको उनले बताए । अवश्यकता परेको खण्डमा पुनः सेवा दिन चिकित्सक र स्वास्थ्यकर्मीलाई उनले आग्रहसमेत गरे ।
पहिलो चरणमा डा. डेनप्रसाद आचार्यको नेतृत्वमा २५ जनाको टिम रहेको थियो । ७ दिन अस्पतालमा वसेको टिम १४ दिन क्वारेन्टाईनमा बसेर आज डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनुअघि स्वास्थ्यर्मीमा गरिएको पीसीआर परीक्षणमा सवैको रिपोर्ट नेगेटिभ आएको थियो ।