धरान: दुबईमा झुण्डिएर आत्महत्या गरेको भनिएका धरानका एक युवाको परिवारलाई कम्पनीले भने कोरोना पोजेटिभ भएको पत्र पठाएको छ ।

धरान ११ का करिब ४४ बर्षीय पुष्पराज भण्डारीले बैशाख पहिलो साता कोठामा नै झुण्डिएर आत्महत्या गरेको खबर उनको परिवारले पाएको थियो । मृतक वडा ११ का पुर्व वडाअध्यक्ष डिल्लीराम भण्डारीका जेठा छोरा हुन् । उनको शव लकडाउन र अन्तराष्ट्रिय उडान खुला भएपछि नेपाल ल्याउने परिवारको योजना थियो । तर, मृतक कार्यरत कम्पनीले उनी कोरोना पोजेटिभ भएको पत्र पठाएपछि उतै अन्त्येष्टी गरिने भएको छ । ‘पहिला चै एउटै कोठामा बस्ने साथीले झुण्डिएर आत्महत्या गरेको भनेको थियो, पछि परिवारलाई कोरोना भएको पत्र आएछ,’वडा नं ११ का सदस्य कृष्णप्रसाद रिजालले भने,‘यहाँबाट उतै अन्त्येष्टी गर्ने र सरसामान, क्षतिपूर्ति जिम्मा लिने आफन्तको नाम, पासपोर्ट नम्बर हालेर सिफारिश पठाइएको छ ।’

वडा सदस्य रिजालले मृत्यु झुण्डिएकै कारणले भएपनि पत्रअनुसार मृतकलाई कोरोना पोजेटिभ पनि भएको भन्ने देखिन्छ । यद्यपी, उनको शव पछि नेपाल पठाउदा लाग्ने खर्च जोगाउन कम्पनीले त्यसरी पत्र पठाएको हो कि भन्ने आशंका पनि उनले व्यक्त गरे । परिवारले दुबईमा भएका आफन्तको उपस्थितिमा अन्त्येष्टी गर्ने स्वीकृतिको सिफारिश पत्र परराष्ट्र मन्त्रालयमा पठाइसकेको छ । मन्त्रालयले नेपाली दुताबासमार्फत कम्पनीलाई उक्त पत्र दिएपछि उनको अन्त्येष्टी हुने रिजालले बताए । उक्त पत्रमा आफन्तको नाम, पासपोर्ट नम्बर उल्लेख गरिएको छ । ती आफन्तलाई नै मृतकको सरसामान र कम्पनीबाट पाउनुपर्ने क्षतिपूर्तिलगायत उपलब्ध गराउनु भन्ने व्यहोरा पनि पत्रमा भएको रिजालले जानकारी दिए ।

पहिला वडा कार्यालय र उपमहानगरपालिकाले सिफारिश पत्र मन्त्रालय पठाएको थियो । त्यो पत्रलाई परराष्ट्र मन्त्रालयले अस्वीकार गरेपछि पुनः इलाका प्रशासन कार्यालयबाट सिफारिश पत्र पठाएको वडा सदस्य रिजालले जानकारी दिए । दुबईमा नै सोही वडाको कल्याण चोकमा परिवार रहेका अमर वान्तवा राईको पनि दुबईमा कोरोनाको कारण मृत्यु भएको थियो । उनको मृत्यु पुष्पराजले आत्महत्या गर्नु ठिक एक दिनअघि भएको हो । उनको पनि अन्त्येष्टी दुबईमा नै गर्ने स्वीकृतिको पत्र परिवारजनले पठाइसकेको छ ।