धरान: धरानका दुई किसोरीलाई काममा लगाइदिन्छु भनेर लैजादै गर्दा सशस्त्र प्रहरीको टोलीले बराहक्षेत्र नगरपालिकाको चतराबाट दुई जना पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी बलको सुरक्षा पोष्ट चतराले धनुषाका ललन मण्डल र सिराहाका महेश प्रसाद यादवलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय महेन्द्रनगरलाई बुझाएको छ । उनीहरुले धरान १ का १४ र १७ बर्षीय किसोरीहरुलाई लैजादै गरेको अवस्थामा सशस्त्रले बेचबिखनको आशंकामा नियन्त्रणमा लिएको जनाएको छ । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर सरण दाहालले घटनाबारे अनुसन्धान शुरु गरेको र किसोरीहरुका अभिभावकलाई कार्यालयमा बोलाएको बताए ।
इन्स्पेक्टर दाहालका अनुसार किसोरीका आमा र पक्राउ परेकाहरुबीच पहिलादेखि नै चिनजान भएको खुलेको छ । पहिला सँगै काम गरेको र आफुहरु गरिब भएकोले समस्या भएर छोरीलाई काममा पठाएको फोन सम्पर्कमा जानकारी दिएको इन्स्पेक्टर दाहालले बताए । ‘राहत पनि पाएनौं, गरिब छौं, हामीसँग नागरिकता पनि छैन भन्यो,’किसोरीका आमाको भनाई उदृत गर्दै इन्स्पेक्टर दाहालले भने,‘लकडाउन भरि काममा छोरी पठाएको भन्यो ।’ उनले अभिभावकलाई कार्यालयमा बोलाएको र थप अनुसन्धान हुने बताए ।