धरान: कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत नेपाली भुमी अतिक्रमण गरेको भन्दै राष्ट्रिय युवा संघले मंगलबार धरानमा शान्तिपुर्ण सांकेतिक विरोध जनाएको छ ।
भानुचोकमा आयोजित विरोध कार्यक्रममा युवाहरुले भारतसँगै चीनले पनि नेपाली भुमीमाथि हस्तक्षेपकारी भुमिका खेलेको भन्दै चीनविरुद्ध पनि नारा लगाएका थिए । पछिल्लो पटक भारतले नेपालको भुमी हुदै चीन जोड्ने सडक निर्माण गरेर उद्घाटन गरेपछि संसददेखि सडकसम्म चर्को विरोध भइरहेको छ । यसअघि, चीन र भारतबीच लिपुलेक नाकाबारे द्धिपक्षीय सम्झौता गरेका थिए । लिपुलेक नेपालको सिमाना भएपनि भारत र चीनले नेपालसँग कुनै छलफल वा सम्झौतामा सहभागीता जनाएको थिएन ।
नेकपाको सुनसरी जिल्ला सचिवालय सदस्य तथा युवा फाँटको फ्र्याक्सन इञ्चार्ज पुर्ण भुजेल चिन्तनले छिमेकी मुलुक भारतले भुकम्पको बेला पनि नाकाबन्दी लगाएर दुःख दिएको भारतले अहिले कोरोनाको महामारीको बेला पनि सीमा अतिक्रमण गरेकोले सांकेतिक विरोध जनाएको बताए । सरकारले कुटनितिकरुपमा वार्ताबाट समस्या समाधान गर्नुपर्ने भन्दै उनले त्यसरी हल नगरे अन्र्तराष्ट्रिय अदालतसम्म जानुपर्ने पनि बताए । सीमा क्षेत्रमा सुरक्षा फौज राख्नुपर्ने भन्दै उनले नेपालका युवाहरु जुनसुकै कदम चाल्न पनि तयार भएको बताए । यस्तै उनले चीनले पनि एकपक्षीयरुपमा सगरमाथाको नाप लिइरहेको खबर पाएको भन्दै चीन पनि हस्तक्षेपकारी नै देखिएकोले विरोध जनाएको बताए ।
यस्तै, संघका केन्द्रीय सदस्य हरि लिम्बुले पनि नेपालको भुमी भएर जानुपर्ने भएर पनि नेपालको सल्लाह विना गरेकोमा आक्रोश पोखे । उनले भने,‘भारत र चीनले मात्र किन गर्यो ? त्रिदेशिय सम्बन्धद्वारा हल गर्नुपर्ने हो, यो बिषयमा भारत जति दोषी छ, चीन पनि त्यतिकै दोषी भएकोले विरोध गरेका हौं ।’ तस्बिरहरु:विकास चाम्लिङ राई