धरान: अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा मंगलबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फ्लोरेन्स नाइटिङ्गेललाई सम्झना गरिएको छ ।
कोरोना भाईरसको महामारी र लकडाउनको बीचमा पनि प्रतिष्ठानका नर्सहरुले फ्लोरेन्सलाई सम्झदै नर्सिङ दिवस मनाएका हुन् । उनीहरुले फ्लोरेन्सको तस्बिरमा माल्र्यापण गरेका थिए । आज फ्लोरेन्स नाइटिंगेलको २ सय औं जन्म दिवस हो । लकडाउनको कारण वार्ड इञ्चार्जहरु मात्र यो कार्यक्रममा उपस्थित भएको प्रतिष्ठानको मेट्रोन तथा नर्सिङ संघका ईकाई अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । ‘सिमित उपस्थितिमा सरकारको निर्देशन पालना गर्दै तस्बिरमा फुलमाला अर्पण गरेर नर्सिङ दिवस मनाइयो,’मेट्रोन यादवले भने,‘डिउटीमा समस्या नहुने गरि वार्डका इञ्चार्जहरुको उपस्थितिमा मनाइएको हो ।’
कार्यक्रम जिओपिडी भवनमा भएको थियो । मेट्रोन यादवका अनुसार १०० पिस प्लाष्टिकको गाउन, १०० पिस फेस सिल्ड, १०० पिस क्याप पनि जनशक्ति र कामको प्रकृतिको आधारमा वार्ड इञ्चार्जहरुलाई वितरण गरिएको थियो । हरेक वार्डमा ५ देखि १० वटासम्म ती आवश्यक सुरक्षा सामग्रीहरु दिइएको उनले बताए । एन ९५ मास्क पनि चाडै उपलब्ध गराउने उनले बताए ।
वीपी प्रतिष्ठानमा ६ सय बढी नर्सहरु छन् । अहिले पिपिईको समस्या नभएको मेट्रोन यादवको भनाई छ । पिपिईहरु प्रशस्त आएको र सबैको पुर्णसुरक्षा भएको उनले दाबी गरे । ‘सबैलाई तालिम र अभिमुखीकरण गरेका छौं, अहिले राम्रो व्यवस्थापन भएको छ,’मेट्रोन यादवले भने,‘नर्सहरुको मनोवल उच्च राख्ने गरि काम गरिरहेका छौं, यस्तो जोखिमको बेला पनि फ्रन्टलाइनमा खटिने सम्पुर्ण नर्सहरुलाई पनि हामीले बिशेष धन्यवाद भन्ने पर्छ ।’
कोरोनाको उपचारमा पुल सिस्टम
प्रतिष्ठानमा कोरोना भाइरस(कोभिड १९) को उपचारको लागि स्वास्थ्यकर्मीहरुको लागि पुल सिस्टम बनाइएको छ । एक साता एउटा पुलले काम गर्छ, र अर्को पुल आउछ । पहिलो पुल विदा बस्छ । दोस्रो पुलले पनि एक साता काम गरेपछि तेस्रो पुल आउछ, र दोस्रो पुल विदा बस्छ । यसरी यो पुलले पालैपिलो उपचारमा खटिन्छन् । त्यो बेला भित्र रहेकाहरु ७ दिनसम्म बाहिर कसैसँग पनि सम्पर्कमा आउदैनन् ।
एउटा पुलमा २ जना डाक्टर, ७ जना नर्स, ४ जना हेल्पर, १ जना प्रहरी र १ जना सेक्युरीटी गार्ड गरी १५ जनाको टिम हुन्छ । त्यो पुलमा एक जना नर्सिङ इञ्चार्ज हुन्छन् । एक सातासम्म उपचारमा खटिदा त्यहाँ रहेको विरामीको पिसिआर रिपोर्ट नेगेटिभ आउदा मात्र स्वास्थ्यकर्मीहरुलाई घर पठाइन्छ । विरामीको रिपोर्ट पोजेटिभ आए स्वास्थ्यकर्मीहरु पनि १४ दिन क्वारेन्टाइनमा बस्छन् ।
‘वीपीमा पनि एउटा पुल खटिएको बेला रिपोर्ट पोजेटिभ आएको थियो, उहाँहरुलाई १४ दिन निर्वाणा कन्ट्री क्लबमा क्वारेन्टाइनमा राख्यौं । पछि, पिसिआर गर्यौं र नेगेटिभ रिपोर्ट आएपछि मात्र घर पठायौं,’मेट्रोन यादवले भने । वीपी प्रतिष्ठानको आइसोलेसनमा २०७६ फागुन २२ गते पहिलो शंकास्पद व्यक्ति भर्ना भएका थिए भने आजको दिनसम्म कुल ४५ जना भर्ना भएको तथ्यांक छ ।