धरान: मंगलबार राती उपत्यकाको काठमाण्डौं र भक्तपुरसहित विभिन्न ६ जिल्लामा २६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राती सवा १० बजे प्रेश विज्ञप्ती जारी गर्दै कुल संक्रमितको संख्या २१७ पुगेको जानकारी दिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण अनुसार काठमाण्डौं, भक्तपुरसँगै पर्सा, धनुषा, महोत्तरी र सर्लाहीमा संक्रमितहरु थपिएका हुन् । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार पर्सामा ६ जना महिला र १२ जना पुरुष गरि १८ जना संक्रमित भेटिएको हो । यस्तै, महोत्तरीमा २ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ भने धनुषमा एक महिला र एक पुरुष गरि २ जनामा संक्रमण भएको पुष्टि भएको छ ।

यसैगरि, भक्तपुरमा पनि एक महिला र एक पुरुष गरि २ जना संक्रमित पुष्टि हुँदा काठमाण्डौंमा एक महिला र सर्लाहीमा एक पुरुषमा संक्रमण पुष्टि भएको छ । संक्रमित सबैको स्वास्थ्य सामान्य रहेको पनि डा.अधिकारीले जानकारी दिएका छन् । हिजो मंगलबार एकै दिन कुल ८३ जना नयाँ संक्रमित थपिएका हुन् । मंगलबार बिहान पनि ५७ जना संक्रमित पुष्टि भएको थियो ।

बिहान संक्रमण देखिएका ५७ जनामा दुई जना पत्रकार र एक जना स्वास्थ्यकर्मी पनि छन् । नेपालमा पहिलो पटक पत्रकार र स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको हो । पर्साको वीरगञ्जका २ पत्रकारलाई कोरोना भएको हो । यस्तै,कपिलबस्तुमा पुष्टि भएको ८ संक्रमितमध्ये एक जना स्वास्थ्यकर्मी पनि छन् । press