धरान: लिपुलेकमा भारतले नेपाली भुमि अतिक्रमण गरि सडक बनाएपछि सदनदेखि सडकसम्म चर्को विरोध भइरहदा अतिक्रमित क्षेत्र नजिकै दार्चुलामा बुधबार सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट(बिओपी) स्थापना भएको छ ।

भारतले निरन्तर नेपाली भुमी अतिक्रमण गर्दै आइरहेको सीमा क्षेत्र नजिकै छाङरुमा सशस्त्र प्रहरीको पोष्ट स्थापना भएको हो । यो ठाउँ भारतले कब्जा जमाएको नेपाली भुमी कालापानी नजिकै पर्छ । यो ठाउँबाट कालापानी करिब १२ किलोमिटरको दुरीमा छ । सशस्त्र प्रहरीको कार्य एवं सीमा सुरक्षा विभागका प्रमुख एआईजी नारायणबाबु थापासहितको उपस्थितिमा बीओपी स्थापना भएको छ ।

नेपाली सेनाको एम–१६ हेलिकोप्टरमार्फत सशस्त्रको टोली लगिएको थियो । पोष्टमा २५ जनाको टोली रहने भएपछि आज १२ जनालाई मात्र पुर्याइएको छ । अन्यलाई भोली लगिने भएको छ । पछिल्लो समय भारतले तिब्बतको मानसरोवर पुग्ने सडक नेपालको भुमीबाट बनाएपछि चर्को विरोध भइरहेको छ ।