धरान: प्रदेश १ सरकारका आन्तरिक मामिला मन्त्री एवं प्रवक्ता हिक्मत कार्कीले भारतमा लकडाउन खुकुलो हुदा कम्तीमा २० हजार नेपालीहरु आउने सम्भावना रहेको बताएका छन् ।

ती नेपालीहरुलाई व्यवस्थापन गर्न तथा जोखिम निम्तिन नदिन सीमा क्षेत्रमा होल्डिङ एरिया बनाउने सरकारको तयारी रहेको पनि मन्त्री कार्कीले जानकारी दिए । नेपाल भारतबीचमा नागरिकहरुलाई आउन जान दिने सहमति भएपछि होल्डिङ एरियामा राख्ने र त्यहाँबाट विभिन्न ठाउँको क्वारेन्टाइनमा राख्ने मन्त्री कार्कीले बताए ।

‘लकडाउन खुल्दा २० हजार जनसंख्या तत्काल नेपाल आउने सम्भावना देखेका छौं, त्यसकोलागि हाम्रो सीमा क्षेत्रमा हेल्डिङ एरिया बनाउछौं, उहाँहरु आइसकेपछि व्यवस्थापन गछौं,’मन्त्री कार्कीले भने,‘होल्डिङ एरियाबाट विभिन्न ठाउँको क्वारेन्टाइनमा राख्छौं, र ल्याब टेष्ट गछौं ।’

त्यसरी ल्याब टेष्ट गर्दा संक्रमित देखिए आइसोलेसन वार्ड र अस्पतालमा लगेर उपचार गरिने मन्त्री कार्कीको भनाई छ। संक्रमित नदेखिएमा ल्याब टेष्ट पछि घरमा क्वारेन्टाइनमा पठाउने पनि मन्त्री कार्कीले बताए । ‘यी सबै व्यवस्थापनको लागि सबै राज्यको निकायहरुलाई एकतावद्धढंगले परिचालन गरेका छौं,’उनले भने । मन्त्री कार्कीका अनुसार ल्याब टेष्ट तीब्ररुपमा बढाउनुपर्छ भन्ने निष्कर्ष तीन तहकै सरकारको भएकोले परीक्षणलाई बढी ध्यान दिइरहको पनि बताए ।

hikmat-karki- 1

तेस्रो मुलुक र भारतमा रहेका नेपालीहरु वा भारत, र तेस्रो मुलुकका बासिन्दाहरु नेपाल आउने जाने क्रममा संक्रमण फैलिएको कारण नेपाल भारत सीमालाई पुर्णरुपमा बन्द गरिए पनि खुला सीमा भएको कारणले आवतजावत लुकीछिपी आउने क्रम जारी भएको पनि मन्त्री कार्कीको भनाई छ ।

यो कुरालाई मध्यनजर गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी वललाई कोशी ब्यारेजदेखि इलाम जिल्लासम्म ५१२ ठाउँमा ४ हजार फोर्स तैनाथ गरेको पनि मन्त्री कार्कीले बताए । ‘सुरक्षा फोर्स बसोबासको उचित व्यवस्थापन नहुदा पनि देशभक्तिपुर्ण कार्य गरेको छ । यसले नेपाल भारतको खुला सिमालाई थप व्यवस्थापन गर्नुपर्ने भन्ने पाठ सिकाएको छ, यसलाई कुटनैतिकरुपमा पछिल्ला दिनमा हल गरिन्छ,’मन्त्री कार्कीले भने ।

कोरोना उपचारका निम्ति विराटनगरमा कोभिड १९ अस्पताल बनाएको र धरानको वीपी प्रतिष्ठानलाई आवश्यक पर्दा सम्पुर्णरुपमा कोभिड १९ अस्पतालमा परिणत गर्ने गरि सय बेडको कोभिड १९ अस्पताल शुरुवात गरिएको मन्त्री कार्कीले बताए । हाल प्रदेशमा १ हजार भन्दा बढी संक्रमित देखिदा पनि सहजै अस्पतालमा पुर्याएर उपचार गर्ने क्षमता रहेको उनले बताए ।