धरान: सीमानामा सुरक्षा फौज राख्न र काँडेतार लगाएर घेराबारा गर्न अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पस धरान इकाई कमिटिले सरकारसँग माग गरेको छ ।
पछिल्लो समय भारतले नेपाली भुमी मिचेर सडक बनाएपछि विरोध भइरहदा अनेरास्ववियु क्याम्पस इकाई कमिटिले यस्तो माग गरेको हो । इकाई कमिटिको अध्यक्ष सुजन खत्री र सचिव शेष प्रसाद रेग्मीले हस्ताक्षर गरेको विज्ञप्तीमा दीर्घकालिन समस्या समाधान गर्नको लागि भारतसँग कुटनैतिक पहल गर्न उत्तम हुने संगठनको निष्कर्ष रहेको पनि उल्लेख गरिएको छ । कुटनैतिक पहलबाट समस्या समाधान गर्न भारतले आनाकानी गरेमा भारतले नेपालमाथि गर्ने सीमा अतिक्रमणको मुद्दालाई अन्तराष्ट्रियकरण गरी संयुक्त राष्ट्र संघसम्म पुग्ने कदम उठाउन पनि सरकारसँग विज्ञप्तीमार्फत माग गरिएको छ ।
विद्यार्थी युनियनले भारतको कदम सच्याउन र भारतकोतर्फबाट मिचिएको नेपाली सीमा यथास्थितिमा कायम गराउन बिशेष पहल गर्न पनि माग गरेको छ । दुवै देशको आपसी सम्बन्ध, समानता र समान सर्वभौमसत्ता, भौगोलिक अखण्डता र दुवै देशको समान हितको आधारमा हुनुपर्ने पनि विज्ञप्तीमा उल्लेख छ । इतिहासमा कुनै पनि साम्राज्यवादी शक्तिसँग घुँडा नटेकेको नेपाललाई सीमा अतिक्रमणदेखि नेपालको सर्वभौमसत्ता र राष्ट्रिय अखण्डतामाथि कुदृष्टि नराख्न र त्यस्तो हेपाहा कदम निरन्तर दोहोरिएमा नेपाल सरकारभन्दा नेपाली जनता सीमाको लागि काँडा र वदलाको लागि खडा भएर उत्रने पनि चेतावनी दिइएको छ ।