धरान: कोरोना भाइरस(कोभिड १९)को संक्रमणले विश्वव्यापी हुदै नेपालमा पनि प्रभावित हुन थालेपछि संघीय सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष स्थापना गरेको छ । यस्तै, प्रदेश सरकार र विभिन्न पालिकाहरुले पनि राहत कोष स्थापना गरेका छन् ।

सरकार र पालिकाहरुको कोष तथा फुड बैंकहरुमा खाद्यान्नसँगै नगद सहयोग जुट्ने क्रम जारी छ । कतिले सार्वजनिकरुपमा तस्बिर खिचाउदै सहयोग गरेको सार्वजनिक गर्छन् भने कतिले सहयोग गरेको सार्वजनिक गर्न चाहदैनन् । तिनै मध्ये एक धरानका अग्रज समाजसेवी धनन्जय प्रसाद आचार्यले संघीय सरकारको कोषमा २१ लाख रुपैया सहयोग गरेका छन् । उनले धरान उपमहानगरपालिकाको राहत कोषमा पनि २ लाख नगद सहयोग गरेका छन् । तर उनी सहयोगबारे प्रचारबाजी गर्न रुचाउदैनन् ।

आचार्यको धरानस्थित निवासमा क्लिकधरानसँगको भेटमा धरान उपमहानगरपालिकाले राहत वितरण गर्दा खाद्यान्न खरीद गर्दाको ६४ लाख बढी तिर्न बाँकी रहेको सुन्दा दुःख लागेको प्रतिक्रिया दिए । उनले आवश्यक परे आफु अझै सहयोग गर्न तयार रहेको सन्देश पनि दिए । साथै, यो संकटको बेलामा समाजका हरेक पक्षले सहयोग गर्न पनि उनले आग्रह गरे । ‘यो बेलामा हामी विभाजित हुने होइन, सबै मिलेर संकटको सामना गर्ने बेला हो,’आचार्यले भने,‘राहत वितरण गर्दाको ६४ लाखजति तिर्न बाँकी भएको र मेयरले सहयोगको अपिल गरेको खबर पढे, सबैले सहयोग गर्ने हो भने त्यति रकम जुट्नु ठुलो कुरा होइन । आवश्यक परे म सहयोग गर्न तयार छुँ ।’

विश्व नै कोरोना महामारीको चपेटामा परेको यो संकटको घडिमा राजनैतिक वा जातिगत चस्मा कसैले पनि लगाउन नहुने आचार्यको भनाई छ । भाइरसले कुनै पार्टी, जाति र उमेर समुह पनि नभन्ने भएकोले सबै मिलेर संकटको सामना गर्नुपर्ने र सरकार, स्थानीय तहको प्रयासलाई साथ दिनुपर्ने धारणा राखे । ‘यो बेला हामी कुन पार्टी, कुन जाति भन्ने नै होइन, सबै मिल्नुपर्छ,’उनले भने ।

acharya