काठमाडौँ: अध्ययन वा कामको सिलसिलामा जापान र हङकङमा बस्दै आएपनि लकडाउनले जान नपाएका नेपालीहरुलाई चार्टड फ्लाइटमार्फत पठाउने निर्णय भएको छ ।
आज बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो । समितिले स्वास्थ्य क्षेत्रसँगको विज्ञहरुसँग छलफल पछि यो निर्णय लिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए । समितिले यो निर्णय सरकालाई सिफारिश गरेको छ ।
लकडाउनका कारण जापान जानबाट रोकिएका ६ सय र हङकङको आईडी प्राप्त नागरिकलाई स्वास्थ्य परीक्षण, अध्यागमन प्रक्रिया पूरा गरी पठाउनेछ । चार्टड फ्लाइटको खर्च कसले व्यहोर्ने भन्ने विषय भने खुलेको छैन ।
नेपालमा चैत ११ गतेदेखि जारी लकडाउनको मोडालिटी परिवर्तन हुने भएको छ ।
लकडाउनको मोडालिटी परिवर्तन हुने
आज बसेको बैठकले सरकालाई लकडाउनको मोडालिटी परिवर्तन गर्न पनि सिफारिस गरेको छ । स्वास्थ्य क्षेत्रको विज्ञहरुसँगको छलफल पछि समितिले जेठ ५ गतेपछि लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको हो ।
समितिले जोखिम क्षेत्र छुट्याएर लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव विडारीले जानकारी दिए । उनका अनुसार समितिले उच्च जोखिममा रहेको क्षेत्र, मध्यम जोखिममा रहेका क्षेत्र र न्यून जोखिममा रहेका क्षेत्रको पहिचान गरी मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको छ ।
छलफलमा विज्ञहरुले परीक्षण, कन्ट्याक्ट ट्रेसिङको दायरा बढाउनुपर्ने, क्वारेन्टाइनको व्यवस्थापन राम्रोसँग गर्नुपर्ने सुझाव दिएको बताइएको छ । आत्तिनुपर्ने अवस्थामा नभए पनि सचेत हुनुपर्ने, विदेशबाट आउनेहरुको सवालमा सम्बन्धित स्थानीय तहहरुमा क्वारेन्टाइनको उचित व्यवस्थान गरी ल्याउनुपर्ने सुझाव पनि विज्ञहरुले दिएका छन् ।