धरान: छिमेकी मुलुक भारतले नेपालको भुमी मिचेर सडक बनाएको विरोधमा राष्ट्रिय युवा संघ नेपाल धरान उपमहानगर कमिटिले प्रर्दशन गरेको छ ।
संघले आज शुक्रबार दिउँसो करिब साढे ४ बजे प्रर्दशन गरेको हो । सत्तारुढ दल नेकपा निकट युवाहरुले छाताचोकस्थित पार्टी कार्यालयबाट र्याली निकालेका थिए । उनीहरुले भारतीय हस्तक्षेप मुर्दावाद.., लिम्पियाधुरा, कालापानी नेपालको हो भन्दै नारा लगाएका थिए । र्यालीलाई प्रहरीले गीता मन्दिर अगाडि नै रोकेर पम्प्लेट खोस्ने प्रयास गरे पनि सफल हुन सकेन । केही युवाहरुको पम्प्लेट खोसे पनि युवाहरु दौडिएर भानुचोकसम्म पुगेका थिए ।
भानुचोकमा कोणसभालाई युवा संघका केन्द्रीय सदस्य हिमाल लिम्बुले सम्बोधन गरेका थिए । उनले विश्व महामारी संकटसँग जुधिरहेको बेला भारतले नेपाली भुमि मिचेर विस्तारवादी चरित्र देखाएको भन्दै आक्रोश पोखे । साथै उनले यसअघि पनि भुकम्पको पीडामा भएको नेपाललाई नाकाबन्दी गरेर दुःख दिएको तर स्वाभिमानी नेपाली र नेपाल सरकारले सामाना गरेको पनि स्मरण गरे ।
‘नेपालमा जब जब संकट आउछ, अनि भारतीय विस्तारवादले नेपालको सीमाना अतिक्रमण गर्ने काम गर्छ, यसको विरुद्ध सम्पुर्ण युवाहरु एक पंक्ति भएर अघि बढीरहेको उद्घोष गर्न चाहन्छौं,’युवा नेता लिम्बुले भने,‘अहिले बाटो बनायो, त्यसको विरोध गर्न उभिएका छौं ।’ युवाहरु देशको सीमा एक इञ्च पनि मिच्न नदिन वलिदान दिन पनि तयार भएको नेता लिम्बुले बताए । पर्साको ठोरी गाउँपालिका ३ को अध्यक्ष सुर्य लामाले सीमालाई तारजालीले बारेकोमा उनले धन्यवाद पनि दिएका थिए ।