धरान: लकडाउनका कारण समस्यामा परेका टेम्पो चालकका परिवारहरुलाई नेपाल स्वतन्त्र मजदुर संगठन धरान उपमहानगर कमिटीले राहत वितरण गरेको छ ।
संगठनले शनिवार धरान ७ स्थित होटल सन्ध्या इनको हलमा ४० जना चालकहरुलाई राहत वितरण गरेको हो । यसअघि ४५ जना टेम्पो चालकहरुलाई राहत प्रदान गरिसकेको संगठनले २ सय जना टेम्पो चालकहरुलाई राहत प्रदान गर्ने लक्ष्य रहेको संगठनका अध्यक्ष कमल भट्टराईले जानकारी गराए । उनीहरुलाई राहतमा १० केजी चामल, न्युटेला, नुन र तेल प्रदान गरिएको थियो ।
लकडाउन सुरु भएदेखि नै मजदुर संगठनले धरानले राहत वितरण गर्दै आइरहेको छ । धेरै यातायात मजदुरहरु धरान बाहिरका समेत भएकोे र धरान उपमहानगरपालिकाले वितरण गर्ने राहतबाट वञ्चित हुनु परेको हुनाले संगठनले सहयोगीहरुबाट सहयोग संकलन गर्दै यातायात मजदुरहरुलाई राहत प्रदान गर्दै आइरहेको संगठनका प्रदेश १ उपाध्यक्ष रविन अधिकारीले बताए ।
संगठनले करिव ६ सय जना यायायात सम्वन्धी चालक, कन्डक्टर, हेल्पर, वुकिङ्ग र ग्यारेजमा कार्यरत मिस्त्रीहरुलाई राहत वितरण गरिसकेको संगठनका भट्टराईले जानकारी दिए । संगठनका अनुसार धरानमा करिव दश हजार जना परिवार यातायात व्यवसायमा आश्रित छन् । धरान उपमहानगरपालिकालाई मजदुरहरुको लागि छुट्टै प्याकेजका लागि अनुरोध गरेपनि राहत उपलव्ध नगराएको अध्यक्ष भटट्राईले गुनासो गरे ।