इटहरी: एक १८ बर्षीय युवा कोरोना संक्रमित पुष्टि भएपछि इटहरी उपमहानगरपालिका वडा नं २ र ३ लाई सिल गरिएको छ ।
वडा २ का युवाको स्वाब वीपी प्रतिष्ठान धरानमा परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो । यो रिपोर्ट आएलगत्तै आज बिहान मेयर द्धारिकलाल चौधरीको अध्यक्षतामा आकस्मिकरुपमा नगरस्तरीय सुरक्षा वैठक बसेको थियो । उक्त बैठकले वडा नं २ र ३ सिल गर्ने तथा आवागमन, आवातजावत बन्द गर्ने निर्णय गरेको वडा नं ६ का अध्यक्ष दीपक गौतमले जानकारी दिए । वडा नम्बर ३ संक्रमण भेटिएको वडा २ सँग जोडिएको वडा हो ।
उनका अनुसार अत्यावश्कीय सेवाको गाडीबाहेक राजमार्गमा सबैलाई रोकिनेछ भने मेडिकल पसलबाहेक कुनै पनि पसल खोल्न दिइने छैन । विरामी बाहेक कसैलाई पनि बाहिर निस्कन नदिइने तथा वडा २ र ३ मा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गने निर्णय गरिएको अध्यक्ष गौतमले जानकारी दिए ।
नागरिकहरुको सुरक्षाकै लागि सिल गरिएको मेयर चौधरीले जानकारी दिए । संक्रमित नै देखिएकोले सतर्कता अपनाउन यो निर्णय गरिएको उनले बताए । ‘संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको पनि पहिचान गरेर स्वाब परीक्षण गर्दैछौं, त्यसको रिपोर्ट आएपछि थप निर्णय हुन्छ,’ मेयर चौधरीले भने । उनका अनुसार राजमार्गमा आवातजावत, पसलहरु कम्तीमा ५ दिन पुर्णरुपमा बन्द गरिनेछ । संक्रमित युवाको सम्पर्कमा रहेका ५ जनाको स्वाबको नमुना संकलन पनि गरिएको छ ।