धरान: जिल्ला अस्पताल धनकुटामा तीन दिनदेखि स्वास्थ्यकर्मीसहित डेढ सयको हाराहारीमा लक भएर बसेका छन् ।

जिल्ला अस्पतालमा कार्यरत एक नर्सलाई कोरोना संक्रमण पुष्टि भएपछि आइतबार रातीदेखि जिल्ला अस्पताल र आसपासको क्षेत्रलाई चारकिल्ला कायम गरि प्रशासनले सिल गरेको थियो । त्यसपछि अस्पतालबाट र घरबाट कोही पनि बाहिर निस्कन, हिडडुल गर्न पाएका छैनन् । जिल्ला अस्पतालका निमित्त सुपरिटेण्डेट डा.पुजन विश्वकर्माका अनुसार डेड सयको संख्यामा अस्पताल भित्रै लक छन् । ‘स्वास्थ्यकर्मी, विरामी र विरामीका आफन्तहरु गरेर डेढ सयको संख्यामा लक भएका छौं,’उनले भने,‘फेरि हिजो ५ जनामा संक्रमण देखिएको छ, उनीहरुको कन्ट्याक्ट ट्रेसिङको काम हुन्छ ।’

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणबाट ३ स्वास्थ्यकर्मी, १ जना सुरक्षाकर्मी र १ जना स्वास्थ्यकर्मीको आफन्तलाई कोरोना संक्रमण पुष्टि भएको थियो । ती ५ जना मध्ये एक महिला हुन् भने ४ जना पुरुष छन् । महिलाको उमेर २४ बर्ष रहेको छ भने पुरुषहरु २८, ३७, २९ र ३५ बर्ष रहेको छ ।

धनकुटामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि अहिले जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको छ । यो बैठकले धनकुटा जिल्लालाई नै सिल गर्ने कि भन्ने बिषयमा पनि छलफल भइहेको बताइएको छ । dhankuta