धरान: भारतले अतिक्रमण गरेको भुमी समेटेर सरकारले नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले आज बुधबार दिउँसो नयाँ राजनैतिक नक्सा सार्वजनिक गरेकी हुन् । उक्त नक्सामा भारतले आफ्नो भुमी भनेको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटिएको छ । यो नयाँ नक्सा अनुसार अब नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम हुनेछ ।
यसअघि नेपालको भुमी १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर मात्र मानिएको थियो । भारतले अतिक्रमण गरेको क्षेत्रफल ३३५ वर्गकिलोमिटर नयाँ नक्सामा थपिएको छ । नक्सामा ३३५ वर्गकिलोमिटर भुमी थपिए पनि व्यवहारिकरुपमा भुमी फिर्ता आउन भने बाँकी नै छ ।
मन्त्री अर्यालले यो नक्सा देशभर प्रयोगमा ल्याइने बताइन् । गएको मन्त्रिपरिषद बैठकले भारतले अतिक्रमण गरेको भुमी समेटिएको नक्सा जारी गर्ने निर्णय गरेको थियो । साथै, हिजो संघीय संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको भुमी फिर्ता ल्याउने उद्घोष गरेका थिए ।