धरान: प्रदेश १ का कोरोना संक्रमित व्यक्तिहरुलाई अबदेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसन वार्डमा नै राखिने भएको छ ।

यसअघि भने कोरोना संक्रमित व्यक्तिहरुलाई प्रदेश सरकारले विराटनगरमा निर्माण गरेको कोभिड १९ उपचार केन्द्रमा राखिने गरिएको थियो । उक्त कोभिड अस्पताल ५० बेड क्षमता रहेको छ । क्षमता भन्दा बढी संक्रमित व्यक्तिहरु आउन सक्ने भएपछि वीपी प्रतिष्ठानमै पनि संक्रमित व्यक्तिलाई राखिने भएको छ । सोही वमोजिम हिजो कोरोना संक्रमित पुष्टि भएकी धरान १३ की महिलालाई प्रतिष्ठानमा नै राखिएको छ । यसअघि वीपीको आइसोलेसनमा रहेको कोरोना आशंका भएका व्यक्तिलाई पुष्टि भएपछि विराटनगरको कोभिड अस्पतालमा नै लगिने गरिएको थियो ।

प्रतिष्ठानका कोरोना तथा अन्य रोगका विरामी व्यवस्थापनका फोकल पर्सन डा.इन्द्र लिम्बुले आजदेखि संक्रमित व्यक्तिहरुलाई वीपीमै राख्न थालिएको बताए । उनका अनुसार शुरुवातमा प्रतिष्ठानको आइसोलेसन वार्डमा नै संक्रमित व्यक्तिहरुलाई राखिनेछ । प्रतिष्ठानले पेइङ वार्डलाई नै कोरोनाको लागि आइसोलेसन वार्डमा परिणत गरेको थियो । त्यहाँ १० वटा कोठा छ भने २ वटा आइसियु बेड पनि छ ।

bp-issolation-

वीपी प्रतिष्ठानको आइसोलेसन वार्ड ।

आवश्यक परे त्यसभन्दा माथिल्लो तला र आसपासको वार्डलाई पनि आइसोलेसन वार्ड बनाउने प्रतिष्ठानको योजना छ । प्रतिष्ठानमा सय बेडको कोभिड १९ अस्पताल पनि छ । यहाँ भने सिरियस विरामीलाई मात्र भर्ना गरेर उपचार गरिन्छ । त्यसैले कोरोना पोजेटिभ देखिए पनि अवस्था सामान्य भएका व्यक्तिहरुलाई आइसोलेसनमा नै राखिनेछ ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालय मातहतको प्रदेश स्वास्थ्य महाशाखा प्रमुख डा.सुरेश मेहताले विराटनगरको कोभिड अस्पताल प्याक हुदै गएकोले केही संक्रमित व्यक्तिलाई वीपीमा पनि राखिने बताए । सरकारले अन्य विभिन्न स्थानमा पनि संक्रमित व्यक्तिहरुलाई राख्ने गरी तयारीमा जुटेको उनको भनाई छ । ‘विराटनगरमा प्याक हुदैछ, त्यसैले केही यता रहन्छ, केही धरानमा हुन्छ,’उनले भने,‘अरु तिर पनि तयारी गर्दैछौं ।’

covid-19-hospital