धरान: नेपालमा कोरोना संक्रमण(कोभिड १९)बाट संक्रमित हुनेको संख्या ५ सय नाघेको छ ।

आज दिउँसो थप २० जना नयाँ संक्रमित पुष्टि भएसँगै देशभरको संक्रमितको संख्या ५०७ पुगेको छ । आज दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले बाँकेमा १४ जनासहित २० जना नयाँ संक्रमित पुष्टि भएको जानकारी दिएका हुन् । उनका अनुसार कैलालीको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै, डडेल्धुराको पर्शुराम १० का २८ बर्षीय युवा संक्रमण पुष्टि भएको छ भने वैतडीको शिवनाथ १ का २२ बर्षीय युवामा पनि संक्रमण पुष्टि भएको छ । यसैगरि, बाँकेमा १४ जना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा १८ देखि ६१ बर्षको उमेर समुहका १४ जना पुरुषहरु छन् । एक जना राप्ती सोनारीका हुन् भने बाँकी १३ नरैनापुरका हुन् ।

यस्तै, रतुवामाई २ मोरङका एक ४१ बर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको डा.देवकोटाले जानकारी दिए । संक्रमित जिल्ला ४० पुगेको छ भने संक्रमित कुल संख्यामा पुरुष ४३३ र महिला ७४ रहेको छ ।