विराटनगर: स्वास्थ्यकर्मी नै कोरोना संक्रमित भेटिए पछि सिल गरिएको जिल्ला अस्पताल धनकुटा आइतबारदेखि सञ्चालनमा आउने भएको छ ।
प्रदेश १ का सामाजिक विकास मन्त्रालयले प्रेश विज्ञप्ती जारी गर्दै धनकुटाको जिल्ला अस्पताल जेठ ११ गते आईतबारदेखि पुर्ववतरुपमा सञ्चालन गर्ने निर्णय भएको जानकारी गराएको छ । धनकुटामा जेठ ४ गते अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पताल आसपासको क्षेत्रलाई सिल गरिएको थियो । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक चन्द्रदेव मेहताको नेतृत्वमा भएको स्थलगत अध्ययन, कन्ट्याक ट्रेसिङ, टेष्टिङ तथा सिल गरिएको अस्पताल सम्बन्धी कार्ययोजना तय गर्न टोली मन्त्रालयले पठाएको थियो ।
टोलीको सुझाव अनुसार आज मन्त्री जीवन घिमिरेसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा. गुणराज लोहनी, स्वास्थ्य सेवा विभागका इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. बासुदेव पाण्डे, प्रदेश १ स्वास्थ्य निर्देशनालयका निर्देशक मेहतालगायतको बीचमा अनलाइन बैठक बसेर जिल्ला अस्पताल धनकुतटालाई पुर्ववतरुपमा सञ्चालन गर्ने निर्णय गरेको हो । उक्त बैठकमा वीपी प्रतिष्ठान धरानका महामारी रोग विज्ञ डा.प्रज्वल प्याकुरेल, जिल्ला अस्पताल धनकुटाका मेडिकल सुपरीटेन्डेन्ट डा.पुजन विश्वकर्मा, जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाई, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि हरिकृष्ण भट्टराई पनि संलग्न थिए ।
अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति सामाजिक विकास मन्त्रालयको संयोजनमा वीपी प्रतिष्ठान धरान र स्थानीय तहबाट उपलब्ध गराउने पनि निर्णय भएको मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले जानकारी दिएका छन् । मेहताका अनुसार धनकुटाको अवस्था अहिले सामान्य तर्फ उन्मुख रहेको छ । धनकुटामा हालसम्म १ सय ८० जनाको स्वाव संकलन गरिएको छ भने ७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । संक्रमितहरु हाल कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार भईरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको डा.मेहताले जानकारी दिए ।