धरान: धरान उपमहानगरपालिका वडा न. १४ का दलित महिला सदस्य मनिषा विकसहित ३ जनामाथि कुटपिट भएको छ ।

धरान १४ स्थित बमधारा मार्गमा हालै नामाकरण भएको शिवजी चोकको बिषयमा विवाद हुँदा वडा सदस्यमाथि कुटपिट भएको हो । कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरिसकेको छ । प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार पक्राउ पर्नेहरुमा बाबुराम अधिकारी, गणेश कार्की, अर्जुन तामाङ र पदम तामाङ रहेका छन् । उनीहरुको आक्रमणबाट वडा सदस्य मनिषा बिकसहित झलक तामाङ र सुरज बिक घाइते भएका छन् । उनीहरुको टाउकोमा चोट छ । उनीहरुलाई बाटोमा नै आक्रमण भएको थियो । वियरको बोतल र दाउराले हिर्काएको बताइएको छ ।

आक्रमणकारीतर्फका मनोज तामाङ पनि घाइते भएका छन् । उनको वीपी प्रतिष्ठानमा उपचार पछि प्रहरीले नियन्त्रणमा लिएको छ । अन्य तीन घाइतेको प्रतिष्ठानमा उपचार भइरहेको छ । आक्रमणबाट वडा सदस्य बिक बेहोस भएकी थिइन् । अहिले उनको होस आइसकेको र अवस्था सामान्य रहेको प्रहरी निरीक्षक ओलीले जानकारी दिए ।

गएको शिवरात्रीमा शिवजी चोक नामकरण भएर उद्घाटन समेत गरिएको थियो । हिजो राती ४, ५ को समुहले बोर्ड तोडफोड भएको थियो । सोही बिषयमा आज बिहान प्रहरीसहितको उपस्थितिमा छलफल हुँदा गल्ती स्वीकार गरेर बनाइदिने सहमति भएको थियो । तर, केही बेरमा पुनः तिनै समुहले वडा सदस्यलगायतलाई आक्रमण गरेको थियो । घटनामा संलग्नहरुलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ओलीले बताए ।