सुनसरी: इटहरी वडा नं २ का एक युवामा कोरोना संक्रमण देखिएपछि सिल गरिएको दुई वटा वडालाई खुला गर्ने निर्णय भएको छ ।
आज मेयर द्धारिकलाल चौधरीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले यसअघिको निर्णयअनुसार सिल गरिएको वडा २ र ३ खुला गर्ने निर्णय गरेको हो । बैठकले वडा नं २ लाई उच्च स्वास्थ्य सर्तकतामा राख्ने पनि निर्णय गरेको छ । यस्तै सोही बैठकले भोलीदेखि दैनिक बिहान ७ बजेदेखि १० बजेसम्म अत्यावश्यक वस्तुका पसलहरु खुला गरी दैनिक उपभोग्य वस्तुहरु बेचबिखन गर्न पाउने निर्णय पनि गरेको छ । पसलहरुमा सामाजिक दुरी कायम गरिनेछ ।
कडाउनलाई प्रभावकारी वनाउदै जनजीवनलाई सहज बनाउनको लागि आज इटहरी उपमहानगरले आयोजना गरेको वैठकमा यस्तो निर्णय गरिएको हो । वैठकमा जनप्रतिनिधिहरु, उद्योग वाणिज्य संघ, प्रदेश ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालयको प्रतिनिधित्व थियो ।
यस्तै, इटहरी क्षेत्रको विकास निर्माणलाई सामाजिक र भौतिक दुरी कायम राख्दै सञ्चालन गरिने भएको छ । यसको लागि ती योजनाहरुको लागि निर्माण सामग्री ढुवानी गर्न सम्बन्धित वडाअध्यक्षले सिफारिश गरेको आयोजनाको नाम र गाडी नम्बरसहित उल्लेख गरेर दिइएको सवारी पासलाई इटहरी नगर क्षेत्रभित्र सञ्चालन गर्न दिने पनि निर्णय भएको छ ।
वैंकहरुको हकमा यसअघि निर्धारण गरिएको समय विहान १० देखि १ वजेसम्म तोकिएको पालो अनुसार हुने वताइएको छ । अत्यावसक काम वाहेक घर वाट वाहिर ननिस्कन र घरमै वस्दा समेत सामाजिक दुरीलाई पालना गर्न आग्रह गरिएको छ ।