धरान: धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा क्वारेन्टाइन विस्तार गरिएको छ ।

धरान उपमहानगरपालिकाले विदेशबाट आएका व्यक्तिहरुलाई सिधै घरमा जान नदिई १४ दिनसम्म राख्नको लागि एन्फाको भवनलाई क्वारेन्टाइन बनाएको हो । यसअघि धरान १३ फुस्रेस्थित सैनिक आवासिय महाविद्यालयको एउटा भवनलाई क्वारेन्टाइन बनाइएको थियो । त्यहाँ स्कुल भवन मर्मत गर्ने समय भएको र उपमहानगरपालिकालाई व्यवहारिक कठिनाई पनि भएकोले एन्फाको भवनमा क्वारेन्टाइन विस्तार गरिएको हो । ‘आर्मीको आफ्नै नियम हुन्छ, लिमिटेसन हुन्छ । कहिले काही राती १२, १ बजे पनि मान्छे क्वारेन्टाइनमा पुर्याउनुपर्छ, त्यसबेला अलिक व्यवहारिक कठिनाइ पनि भयो,’धरानका मेयर तिलक राईले भने,‘त्यसैले आर्मीकै सहयोगमा एन्फामा क्वारेन्टाइन विस्तार गरिएको छ ।’

एन्फामा तत्काल २८ वटा बेड तयारी अवस्थामा रहेको छ भने थप गरेर ६१ पुर्याइने मेयर राईले जानकारी दिए । एन्फाको क्वारेन्टाइनको सुरक्षा पनि आर्मीले नै हेर्ने मेयर राईले बताए । ‘एन्फाको पनि सुरक्षा व्यवस्था आर्मीले नै हेर्ने हो,’मेयर राईले भने,‘सबै तयार छ, कोही व्यक्ति आजभोली आयो भने एन्फामा राखिन्छ ।’ एन्फाको भवनमा उमेर समुहका खेलाडीहरु छनौट गरेर आवासिय सुविधासहित राखिने गरिन्छ । तिनै खेलाडी बस्ने कोठा एवं बेडमा क्वारेन्टाइनमा रहने व्यक्तिहरुलाई राखिनेछ ।

धरान १३ स्थित फुस्रेस्थित आर्मी स्कुलमा करिब २ महिनाअघि क्वारेन्टाइन स्थापना गरिएको थियो । एक सैनिक अधिकारीका अनुसार भवनको मर्मत गर्नुपर्ने समय भएकोले क्वारेन्टाइनलाई एन्फामा स्थानान्तरण गर्नुपर्ने भएको हो । तर, एन्फामा पनि आर्मीबाट सबै सहयोग हुने ती अधिकारीको भनाई छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार सैनिक स्कुलको क्वारेन्टाइनमा अहिले पनि केही व्यक्तिहरु छन् । उनीहरुको पनि पिसिआर रिपोर्ट नेगेटिभ आइसकेको र १४ दिन पुरा भएपछि सबैलाई घर पठाइने उनले बताए ।

विष्णुपादुकामा २ जना पुर्याउन मेयर आफै गए

आज सोमबार सैनिक स्कुलको क्वारेन्टाइनमा रहेका २ जनाको १४ दिन पुरा भयो । उनीहरु थिए, धरान २० साविक विष्णुपादुकाका टिकाराम राई र मेखबहादुर तामाङ । उनीहरु दिल्लीबाट आएका थिए । क्वारेन्टाइन अवधि पुरा भएपछि उनीहरुलाई पुर्याउन मेयर राई आफै विष्णुपादुका गए ।
दुवैको पिसिआर रिपोर्ट पनि नेगेटिभ आएको छ । तरपनि बाहिरबाट आएको व्यक्तिप्रति समाजको धारणा एवं मनोविज्ञान नकरात्मक हुने भएकोले समाजलाई पनि सचेत गराउन आफु आएको बताए ।