विराटनगरः प्रदेश १ को सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई भारतबाट होल्डिङ एरियामा ल्याउन थालिएको छ ।
हिजो मंगलबार मात्र काकाडभिट्टा र जोगवनी नाकाबाट ९ सय ५० जना नेपालीलाई प्रदेश १ मा ल्याइएको छ । प्रदेश सरकारका अनुसार जोगवनी नाकाबाट २ सय ५० र काकडभिट्टाबाट ७ सय ल्याइएको छ । लुकीछिपी मानिसहरु भित्रदा जोखिम बढ्ने भएकोले औपचारिकरुपमा नै दुवै देशका अधिकारीहरुबीच छलफल गरेर नेपालले होल्डिङ एरिया तयार गरेर नै आफ्ना नागरिकहरुलाई ल्याउन थालेको हो । प्रदेश १ मा मात्र भारतबाट ३० हजार नेपाली नागरिक भित्रिने प्रदेश सरकारले जानकारी दिएको छ ।
सरकारका प्रवक्ता तथा आन्तरिक मामिला एवंम कानुन मन्त्री हिक्मत कुुमार कार्कीले भारत र नेपाल सरकारका अधिकारीबीचको औपचारिक संवाद सम्पन्न भएको र सोही सहमती अनुसार भारतमा रहेका ३० हजार नेपाललाई नेपाल भित्र्याउने बारे गृहकार्य भएको जानकारी दिए । उनका अनुसार बुुधवार प्रदेश एकको भारतसँग सीमा जोडिएका सुनसरी, मोरङ, झापा र इलामका प्रमुख जिल्ला अधिकारीसँगको छलफल भइसकेको छ । उक्त छलफलमा कुनकुन सीमाबाट भारततर्फ रहेका नेपालीलाई नेपाल भित्र्याउने भन्ने छलफल भएको छ ।
मन्त्री कार्कीले नेपाल ल्याएपछिको व्यवस्थापनको तयारीसमेत भएको बताए । ‘पहिले पनि अनौपचारिक रुपमा जाने आउने त भइरहेको थियो,’कार्कीले भने,‘दुुई देशका अधिकारीबीच आधिकारीक छलफल भइसकेको अवस्थामा नेपाल आउने नागरिकको सम्पुुर्ण स्वास्थ्य जाँच र घरसम्म पुग्ने वातावरणका लागि तयारी भएको छ ।’ उनले सम्पुुर्ण नागरिकको स्वास्थ्य परिक्षण गराउने, होल्डिङ एरिया निर्माण गरिएको, संक्रमित व्यक्ति भए आइसोलेटेड अस्पतालमा पठाउने र संक्रमित नदेखिए सम्बन्धित पालिकामा पुर्याउने सम्मको तयारी भएको जानकारी दिए ।
सीमाबाट व्यवस्थितरुपमा नागरिकहरुलाई होल्डिङ एरियामा राखिनेछ । अन्य प्रदेशका नागरिक भए होल्डिङ एरियामा स्वास्थ्य जाँच र आरडिटी गरेर पठाइनेछ भने आफ्नो प्रदेशका नागरिकलाई पिसिआर जाँच गरेर मात्र अस्पताल वा सम्बन्धित पालिकामा पठाइने व्यवस्था छ । यसरी सरकारले नै नाकाबाट व्यवस्थितरुपमा आफ्नो नागरिकहरु ल्याउदा लुकीपिछी आउन बन्द हुने र समुदायमा संक्रमण फैलाने जोखिम पनि नहुने सरकारको अपेक्षा छ ।