धरान: कोरोना भाइरस(कोभिड–१९)को महामारीसँगै डेंगुको जोखिम पनि बढेको छ ।

धरान र धनकुटामा डेंगुका विरामी भेटिएका छन् । दुई बच्चामा जनामा डेंगु भएको पुष्टि भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । उनीहरुको अहिले पेडियाट्रिक वार्डमा उपचार भइरहेको प्रतिष्ठानको प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उदयपुुरका एक व्यक्तिमा पनि डेंगुको आशंका गरिएको थियो । तर, उनलाई डेंगु पुष्टि नभएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानको मेडिकल रेकर्ड शाखाका अनुसार पेडियाट्रिकमा उपचाररत एक जना धरान १६ का हुन् भने अर्का धनकुटाको सागुरीगढी गाउँपालिकाका हुन् । ‘गर्मी सिजनमा डेंगुका विरामी देखिनु सामान्य नै हो, तर सावधानी अपनाउनु चै पर्छ,’प्रवक्ता डा.सापकोटाले भने,‘डेंगुमा पनि ज्वरो आउने हुनाले कतै कोरोना हो कि भन्ने हुनसक्छ, त्यसैले लामखुट्टेको टोकाईबाट बच्नु पर्छ ।’ गत बर्ष धरानमा डेंगुको प्रकोप नियन्त्रण बाहिर गएको थियो । धरानबाट शुरु भएको डेंगुको प्रकोप छिमेकी गाउँ तथा सहरमा पनि देखा परेको थियो ।