धरान: इटहरीका कोरोना भाइरस(कोभिड १९) पुष्टि भएका युवाको नजिक सम्पर्क(क्लोज कन्ट्याक)मा रहेका ३५ जना मध्ये १८ जनाको रिपोर्ट आएको छ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको परीक्षणबाट अहिलेसम्म १८ जनाको रिपोर्ट नेगेटिभ आइसकेको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार १८ जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी आएको छ । ‘बाँकी १७ जनाको पनि प्रक्रियामा छ, आज बेलुकीसम्म रिपोर्ट आइसक्छ भन्ने आशा छ,’उनले भने ।

इटहरीका संक्रमित युवा कलेजका साथीको मलामी जान धरान आएका थिए । पछि उनी विरामी भएपछि वीपी प्रतिष्ठानमा गरिएको परीक्षणको क्रममा कोरोना संक्रमित भएको पुष्टि भएको थियो । त्यसपछि उनको कन्ट्याक ट्रेसिङ गर्ने क्रममा धरानमा मलामी आएको खुलेपछि क्लोज कन्ट्याकमा रहेका ३५ जनाको पहिचान भएको थियो ।

मलामी जानेसहित अन्य डेढ सय बढीको पनि नामावली संकलन गरेर उनीहरुको ज्वरो जाँच गरिएको थियो भने ३५ जनाको पिसिआर परीक्षणको लागि स्वाब लिइएको थियो । यस्तै, अन्य ३१ जनाको पनि आरडिटी गरिएको थियो । मलामी जाने अधिकांश धरान ११ र १७ का थिए । साथै, धरान १३ की संक्रमित महिलाको क्लोज कन्ट्याकमा रहेका १५ जनाको पनि स्वाबको नमुना लिएर वीपी प्रतिष्ठानको ल्याबमा परीक्षणको लागि पठाइएको छ ।