धरान: द आर्ट आफ लिभिङ संस्थाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्वास्थ्यकर्मीहरुको लागि व्यक्तिगत सुरक्षा सामग्री(पिपिई) हस्तान्तरण गरेको छ ।
कोरोना भाइरस(कोभिड १९)विरुद्ध फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि पिपिई प्रदान गरिएको आर्ट अफ लिभिङ धरान सेन्टरले जनाएको छ । सेन्टरकी सरस्वती श्रेष्ठ, पार्वती श्रेष्ठलगायतले प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहलाई पिपिई हस्तान्तरण गरेका थिए । प्रतिष्ठानका अस्पताल निर्देशक डा.साहले संकटको बेला पिपिई सहयोगले स्वास्थ्यकर्मीहरुलाई धेरै राहत पुग्ने भन्दै धन्यवाद दिएका थिए । सेन्टरकी जिल्ला संयोजक पार्वती श्रेष्ठका अनुसार प्रतिष्ठानलाई ५० वटा पिपिई प्रदान गरिएको छ । ‘वीपीलाई आवश्यक छ भनेर नै केन्द्रबाट पठाएकोले आज दिएका छौं,’उनले भनिन् ।
द आर्ट अफ लिभिङ धरान सेन्टरले प्रतिष्ठानबाहेक वडा नं १८ र जियाउल हक मेमोरियल ट्रष्टलाई पनि सहयोग गरेको छ । वडा १८ लाई ५१ हजार बराबरको खाद्यान्न सामग्री प्रदान गरिने श्रेष्ठले बताइन् भने ट्रष्टलाई १० थान पिपिई प्रदान गरिएको छ । पिपिई र खाद्यान्न आर्ट अफ लिभिङ केन्द्र र धरान सेन्टर मिलेर सहयोग गरिएको संस्थाले जनाएको छ ।