धरान: पश्चिम रुकुमको चौरजहारीमा दलित युवासहित सामुहिक हत्याको विरोधमा राष्ट्रिय दलित पत्रकार संघ सुनसरीले दिउँसै मैनबत्ती बालेर दोषीलाई कडा कानुनी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
संघको आयोजनामा आज शुक्रबार धरानस्थित इलाका प्रशासन कार्यालयको मुल गेटअघि मृतकहरुप्रति श्रद्धाञ्जली दिदै विभेदविरुद्धको कानुनलाई अक्षरशः पालना गराउन सरकारको ध्यानाकर्षण गराएको हो । केन्द्रीय समितीले जारी गरेको निर्देशन अनुसार संघले देशका ७७ वटै जिल्लामा पायक पर्ने जिल्लाका प्रशासन कार्यालय अघि आज शान्तिपुर्ण विरोध प्रदर्शन गरेका छन् ।
संघका प्रदेश समिति सचिव रणध्वोज लोहारको अगुवाईमा धरानमा आयोजित शान्तिपुर्ण विरोध कार्यक्रममा करिब दर्जन संघसंस्थाहरुले ऐक्यबद्धता पनि जनाएका छन् । घटनामा मृत्यु भएका ५ जनाको फोटोमा श्रद्धान्जली दिदै उनीको आत्माको चिरशान्तिको कामना गर्दै मैनबत्ती बालिएको थियो । संघको आयोजनामा भएको शान्तिपुर्ण आन्दोलनमा दिउँसै मैनबत्ती बालेर अध्यारोमा रहेको सरकारको ध्यानाकर्षण गराएको संघका सुनसरी अध्यक्ष दिनेश गजमेरले बताए । ‘यत्रो घटना हुँदा पनि सरकार अझै अध्याँरोमै रुमल्लिरहेको छ, त्यसैले दिउँसै मैनबत्ती बालेर सरकारको ध्यानाकर्षण गराइएको हो,’उनले भने ।
विरोध कार्यक्रममा नेकपाका धरान नगर इञ्चार्ज चोत्लुङ, नेपाली कांग्रेसका नगर सचिव श्याम पोखरेल, फोनिजका प्रदेश सल्लाहकार जनकऋषि राई, विश्वकर्मा कल्याण सेवा समितिका अध्यक्ष लालबहादुर सुन्च्येरी लगायतले श्रद्धान्जली दिदै पिडकलाई कारवाहीको माग गरेका छन् । उनीहरुले पीडितहरुलाई कानुनी प्रक्रिया अनुसार कारवाही नभए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । संघले आयोजना गरेको विरोध कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरी, नेपाल फोटो पत्रकार महासंघ सुनसरी, किरात राई पत्रकार संघ सुनसरी, क्रिश्यिचन पत्रकार संघ केन्द्रिय समिती, क्रिश्चियन समाजसहित दलित विकाश समिति साथमा समितीमा आवद्ध रहेका जातिय संगठनहरुले ऐक्यबद्धता जनाएका छन् ।
यो घटनामा डेढ दर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने गृह मन्त्रालयले पनि सहसचिवको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरिसकेको छ । मल्ल थरकी युवतीसँग प्रेम सम्बन्ध भएका नवराज विश्वकर्माले साथीहरुसहित उनलाई लिन गएको बेला गाउँलेहरुले आक्रमण गरेका थिए । घटनामा जाजरकोटको भेरी नगरपालिका–४ का नवराजसहित ६ जनाको मृत्यु भएको छ ।