धरान: बराक्षेत्र ३ का कमल राईलाई नातामा सालो पर्ने गणेश लिम्बुसहित २ जनाले कुटेर हत्या गरेको प्रहरीले जनाएको छ ।
२२ बर्षीय गणेश लिम्बु मृतक राईको जेठी श्रीमतिको ठुली आमा सासुका छोरा हुन् । नाताले उनी मृतक कमलको साला पर्छन् । उनीसहित अर्का १९ बर्षीय प्रदिप राजधामीले लाठीले कुटेर कमलको हत्या गरेको प्रहरीले जनाएकोछ । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक शरणकुमार दाहालले हत्या भएको आशंकामा ७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा गणेश र प्रदिप २ जनाले हत्या गरेको पाइएको बताए । ‘अरु ५ जनालाई छोडिएको छ, हत्यामा संलग्न गणेश लिम्बु र प्रदिप राजधामी हो । दुवै हिरासतमा नै छन्,’दाहालले भने ।
हिजो बिहान बराहक्षेत्र ३ बांगेका कमल राई ईक्राहीस्थित जमुनाकित्ता प्लटिङ जग्गामा मृत अवस्थामा भेटिएका थिए । उनको शरीर र टाउकोमा चोट देखिएकोले हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको थियो । उनको हत्या पुर्व रिसइबीले भएको प्रहरी अनुसन्धानबाट खुल्यो । ‘चार, पाँच महिना अघि मृतकले गणेशलाई मिलन चोकमा ४, ५ मुक्का हानेको रहेछ । त्यति बेलाको रिसले हत्या गरेको देखियो,’प्रहरी निरीक्षक दाहालले भने । मृतकलाई दुवैले बिहिबार राती लाठीले टाउको र संवेदनशील अंगमा कुट्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।