धरान: धरान उपमहानगरपालिकाको १८ नम्बर वडा कार्यालयले आफ्नो वडामा रहेका ज्येष्ठ नागरिक र ३ बर्षसम्मका बच्चाहरुको लागि नौलो कार्यक्रम ल्याएको छ ।

वडा १८ ले ६५ बर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई हर्लिक्स र सुगर फ्रि विस्कुट वितरण गर्ने कार्यक्रम ल्याएको छ भने ३ बर्षसम्मका बच्चाहरुको लागि १ लिटर दुध वितरण गर्ने कार्यक्रम ल्याएको छ । यसको लागि अहिले तथ्यांक संकलन भइरहेको र भोली आइतबारदेखि शुरुवात गर्ने लक्ष्य राखिएको वडा १८ का अध्यक्ष प्रविण राईले जानकारी दिए । ‘वीपी प्रतिष्ठानमा विरामी कुरुवाहरुलाई खाना खुवाउदै आएका थियौं, ओपिडी शुरु भएपछि त्यो बन्द गर्यौं,’अध्यक्ष राईले भने,‘त्यसपछि सल्लाह गरेर ६५ बर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई र ३ बर्षसम्मका बालबालिकाहरुको लागि यो कार्यक्रम गर्ने निर्णय गर्यौं ।’

अध्यक्ष राईका अनुसार वडाका वृद्धवृद्धाहरुलाई हर्लिक्स सुगर फ्रि, बिस्कुट र फलफुल घरघरमा वितरण गरिनेछ । यस्तै, घरधनीहरुको परिवारलाई नभै भाडामा बस्ने परिवारका ३ बर्ष सम्मका बालबालिकाहरुलाई १ लिटर दुध वितरण गरिनेछ । लकडाउन भरि एक दिन विराएर दुध वितरण गर्ने अध्यक्ष राईले बताए । यस्तै, एक चरणमा सबै ज्येष्ठ नागरिकहरुलाई वितण गरिए पछि पुनः छलफल गर्ने उनले बताए ।

‘वडाको कोरोना राहत कोषबाट नै वितरण गछौं । कोषले पुगेन भने पनि जसरी पनि मेनेज गछौं,’अध्यक्ष राईले भने । वडा १८ मा ३६५ घरधुनी छ । तर, एउटै घरमा पनि धेरै परिवार भाडामा बसेकोले परिवारको संख्या भने धेरै छ । ज्येष्ठ नागरिकहरु १५० देखि १७५ को संख्यामा भएको वडाको अनुमान छ ।