धरान: इटहरी २०, तरहरास्थित एकता टोलमा हिजो राती छुरा प्रहारबाट गम्भीर घाइते भएका एक युवाको मृत्यु भएको छ ।
तरहराकै ३० बर्षीय राजन राईको छुरा प्रहारबाट मृत्यु भएको हो । हिजो राती करिब ९ बजेतिर उनलाई तीन जनाको समुहले छुरा प्रहार गरेको इटहरी प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको इटहरीका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।
डिएसपी भण्डारीका अनुसार मृतक राईलाई उनकै साथीको समुहले छुरा प्रहार गरेको हो । राईलाई प्रज्वल तामाङले छुरा प्रहार गरेका हुन् । उनको साथमा अविषेक केसी र अविषेक पौडेल पनि भएको र उनीहरु फरार रहेको डिएसपी भण्डारीको भनाई छ । घटनामा संलग्न तीन जनाको पहिचान भइसकेकोले खोजी कार्य तीब्र बनाइएको डिएसपी भण्डारीले बताए । ‘उनीहरु साथी साथी हुन् । घटना गराउने मुख्य प्रज्वल हो,’उनले भने ।
मृतक राई आफ्नो अभिभावकहरुसहित युकेमा बस्दै आएका थिए । उनी लकडाउनको कारण युके फर्कन पाएका थिएनन् । उनको बुबा पुर्व ब्रिटिश लाहुरे हुन् ।