धरान: घरमा काम गर्न राखेको एक युवतीलाई गर्भवती बनाएको आरोपमा धरान २० बाट एक व्यक्ति पक्राउ परेका छन् ।
प्रहरीमा महिला अधिकारकर्मीहरुसहितको जाहेरी परेपछि हिजो साँझ प्रहरीले घरबाट नै चक्रकुमार राईलाई पक्राउ गरेको हो । उनी धरान उपमहानगरपालिकाका पुर्व अधिकृत हुन् । लामो समय उपमहानगरमा जागिर खाएका उनले उमेर हदको कारण अनिवार्य अवकाश पाएका थिए । उनी सामाजिक विकास अधिकृतको जिम्मेवारी सम्हालेका थिए भने अवकाश लिने बेला वडा २० को वडा सचिव पनि भएका थिए । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार स्थानीय सहकारीमा आवद्ध महिला र अधिकारकर्मीहरुले जाहेरी दिएपछि राईलाई अनुसन्धानको लागि नियन्त्रणमा लिइएको छ ।
अवकाश पछि राईले धरान २० माछामारामा घर बनाएर होम स्टेको अगुवाई पनि गरेका थिए । उनले २०७५ पुष महिनादेखि एक मुसहर थरकी युवतीलाई संरक्षण दिएर काम गर्न घरमा राखेका थिए । विष्णुपादुका मेला भर्न आएकी ती युवती घर फर्कन नसकेपछि उनले संरक्षण दिएर राखेको खुलेको डिएसपी न्यौपानेले बताए । उनको पेट बढ्दै गएपछि स्थानीय महिलाहरुले सोधी खोजी गर्दा ती युवतीले राईले गर्भवती बनाएको जानकारी दिएपछि प्रहरीमा उजेरी गरेको डिएसपी न्यौपानेले बताए । ‘त्यहाँका दिदीबहिनीहरुले सोध्दा सबै कुरा भनेपछि जाहेरी प्राप्त भयो, र नियन्त्रणमा लिएका छौं,’डिएसपी न्यौपानेले भने । युवतीको उमेर भने खुल्न नसकेको प्रहरी निरीक्षक हेमराज ओलीले बताए । 'उनको केही डकुमेन्टहरु पनि छैन, उमेर पनि खुलेको छैन । १८, १९ बर्षको जस्तो देखिन्छ,'उनले भने ।
श्रीमतिको मृत्यु
घरमा काम गर्ने युवतीलाई गर्भवती बनाएको आरोपमा पक्राउ परेका राईको श्रीमतिको मृत्यु भएको छ । राईको श्रीमति राती करिब ९ बजेतिर घरमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
डिएसपी न्यौपानेका अनुसार प्रहरी घरमा पुग्दा खाटबाट तल घोप्टो परेको अवस्थामा मृत भेटिएकी थिइन् । उनको शव हाल मर्चरीमा राखिएको छ । उनी राईको कान्छी श्रीमति हुन् ।