धरान: विभिन्न नाकामार्फत घर फर्किकाहरुलाई धरान १७ स्थित एन्फा एकेडेमीको भवनमा तयार गरिएको क्वारेन्टाइनमा राख्न थालिएको छ ।

हिजो साँझसम्म विभिन्न मितिमा आएका ३२ जना मानिसहरुलाई क्वारन्टाइनमा राखिएको छ । ती मध्ये १५ जना महिला छन् भने बाँकी पुरुष हुन् । क्वारेन्टाइनमा राखिएकाहरु कोही तीर्थयात्राको क्रममा लकडाउनले भारतमै अड्किएकाहरु हुन् भने कोही आफन्तको मरौंमा गएका र कोही रोजगारीको क्रममा भारत गएकाहरु हुन् । धरान उपमहानगरपालिकाले एन्फा एकेडेमीको भवनलाई क्वारेन्टाइन बनाएपछि जेठ १४ गतेदेखि मानिसहरु राख्न थालेको क्वारेन्टाइनमा खटिएकी अनमी डुका घिसिङले जानकारी दिइन् ।

उनका अनुसार ३२ जना मध्ये २ जना इनरुवा नगरपालिकाका हुन् भने ४ जना बराहक्षेत्र नगरपालिकास्थित मधुवनका हुन् । अन्य सबै धरानकै विभिन्न वडाका रहेको अनमी घिसिङले बताइन् । क्वारेन्टाइनमा रहेकाहरु काकाडभिट्टा, जोगवनी, भण्टावारी र जनकपुर नाकाबाट आएकाहरु छन् । सीमा नाकामा अलपत्र परेकाहरु लुकीछिपी घर आउने र त्यसरी आउदा संक्रमण समुदायमा फैलने खतरा बढेपछि सरकारले नै सीमामा रोकिएका नेपालीहरुलाई सुरक्षितरुपमा ल्याएर क्वारेन्टाइनमा राख्न थालेको हो ।

एन्फा एकेडेमीमा ६१ जना राख्ने क्षमताको क्वारेन्टाइन तयारी गरिएको छ । यसअघि भने उपमहानगरपालिकाले धरान १३ फुस्रेस्थित सैनिक आवासिय महाविद्यालयमा क्वारेन्टाइनमा राख्ने गरेको थियो । तर, सैनिक स्कुलको भवनहरु मर्मत गर्नुपर्ने साथै नेपाली सेनाका कतिपय नियमको कारण व्यवहारिक कठिनाई भएपछि उपमहानगरले एन्फा एकेडेमीमा क्वारेन्टाइन तयार गरेको हो ।