धरान: प्रदेश १ बाट आज ३० जना कोरोना संक्रमित व्यक्तिहरु निको भएर डिस्चार्ज भएका छन् ।
कोशी अस्पताल कोभिड १९ मा उपचाररत २७ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ३ जना आज डिस्चार्ज भएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए । योसँगै प्रदेश १ मा आजसम्म डिस्चार्ज हुनेको संख्या ७८ पुगेको छ । विराटनगरबाट डिस्चार्ज हुनेमा २३ जना पुरुष र ४ जना महिला रहेका छन् । आज डिस्चार्ज हुनेहरु वैशाख ५ गते देखि जेठ ९ गते सम्म भर्ना भएकाहरु रहेका छन् ।
डिस्चार्ज भएका सवैलाई सामाजिक विकास मन्त्री घिमिरे, कोशी अस्पताल मेडिकल सुपरीटेन्डेन्ट डा.संगीता मिश्रा, कोशी कोभिड अस्पताल संयोजक ज्ञानबहादुर वस्नेत लगायतले विदाई गरेका थिए । डिस्चार्ज भएका सवैलाई सम्बन्धित जिल्लामा पठाईएको छ । आज डिस्चार्ज हुनेमा गत वैशाख ५ गते अस्पताल भर्ना भएका विराटनगर १७ का ५७ वर्षीय कासिम मिया छन् । उनलाई उदयपुरको भुल्केमा संक्रमण भएको थियो । जेठ ९ गते भर्ना भएर डिस्चार्ज हुनेमा मोरङ रतुवामाईका ३६ वर्षीय जफार मिया पनि छन् ।
कोभिड १९ उपचार केन्द्रका संयोजक वस्नेतका अनुसार सप्तरीका रामदुल्ला मिया, रवनकुमार साह, उदयपुरका मोहम्वत सविर अलि, कविरा खातुन, राकेश नेपाली, विराटनगरका आनन्दकुमार मेहत्तर, रिंकु सहनी, धनकुटाकी शिला लिम्वु, गणेश बुढाथोकी, बादल गनगाई र मोरंग रतुवामाईका मम्ताज आलम डिस्चार्ज भएका छन् । यस्तै, झापा कचनकवलका मुसाफिक आलम, तयव आलम, नुर आलम, सहवाज मियाँ, सनवाज मियाँ, फिरदोज आलम, इम्तियाज आलम, सुनसरीका गोविन्द चौधरी, विमल रेग्मी, अरविन्द श्रेष्ठ, निहाङ राई, मोरंग पथरीशनिश्चरेका रमेश कार्की, खोटाङका दिपेन्द्र राई, संखुवासभाका निशा थापामगर पनि डिस्चार्ज हुनेको सुचीमा छन् ।