धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अर्थो अब्जरभेसन वार्डमा भर्ना भएका एक बच्चामा कोरोना पोजेटिभ पुष्टि भएको छ ।
अप्रेशन गर्नुभन्दा अघि गरिएको पिसिआर जाँचको रिपोर्ट पोजेटिभ आएपछि अहिले प्रतिष्ठानमा हलचल मच्चिएको छ । ती बच्चा करिब १० दिनदेखि अर्थो अब्जरभेसन वार्डमा थिए । त्यसअघि ती बच्चालाई पेडियाट्रिक इर्मजेन्सीमा पनि उपचारमा लगिएको थियो । घुँडाभन्दा माथि(थाई) फ्रयाक्चर भएका ती बच्चाको अप्रेशन गर्नुपर्ने भएपछि पिसिआर जाँच गरिएको चिकित्सकको भनाई छ ।
विगत १० दिनदेखि वार्डमा रहेका विरामीमा कोरोना पोजेटिभ देखिएपछि स्वास्थ्यकर्मीहरुमा हलचल मच्चिएको छ । उनको उपचारमा के कति चिकित्सक, नर्सहरु संलग्न थिए भनेर अहिले ट्रेसिङको काम भइररहेको छ भने उनलाई भेट्न आउने आफन्त, कुरुवाहरुको पनि ट्रेसिङ भइरहेको छ । अहिले अर्थो अब्जरभेसन वार्डमा आवतजावत बन्द गरिएको विभागीय प्रमुख प्रा.डा.पशुपति चौधरीले बताए । ‘जे जति सिस्टर, डक्टर हुनहुन्छ, सबैको पिसिआर जाँच गर्नुपर्छ । उहाँहरुको पोजेटिभ आयो भने त परिवारको पनि गर्नुपर्ने हुन्छ । किनभने डिउटी पछि आफ्नो घरमा सबै गएको हुन्छ,’डा. चौधरीले भने,‘वार्डमा थुप्रै भिजिटर आएका थिए । आसपासमा अरु विरामीहरु पनि थिए । अब सबैको जाँच गर्नुपर्ने हुन्छ ।’
वार्डमा आवतजावत बन्द गरेर विरामीलाई राती नै आइसोलेसन वार्डमा सिफ्ट गरिएको पनि डा.चौधरीले जानकारी दिए । साथै, वार्डलाई डिस्इन्फेक्ट गरिने पनि उनले बताए । ‘उसको अप्रेशन गर्नुपर्ने नै हो । पोजेटिभ आउदा पनि कतिपय अप्रेशन गर्नुपर्छ । त्यसैको लागि कोभिड १९ अस्पताल बनेको हो । तर, यहाँ किन पुर्णरुपमा चलेको छैन, बुझ्न सकिएन,’उनले भने ।