धरान: दुमी फनसिख्खीम धरानले लकडाउनका कारण समस्यामा परेका ६५ जना विद्यार्थी र गणतन्त्र खोरिया वस्तीका परिवारहरूलाई खाद्यान्न वितरण गरेको छ ।
धरान १५ स्थित गर्वलाल मार्ग दुमी चोकमा रहेको दुमी भवनमा शुक्रवार राहत वितरण गरिएको थियो । राहत स्वरुप उनीहरुलाई १० किलो चामल, १ किलो दाल, १ लिटर तेल, १ किलो नुन र आधा किलो न्युट्रेल प्रदान गरिएको दुमी फनसिख्खीम धरानका अध्यक्ष कृपा राईले बताइन् । सिख्खीमले १५ न. वडा कार्यलय संग सहकार्य गरी दुमी राई संगै अन्य समुदायको ६५ जनालाई ६५ हजार बराबरको खाद्यान्न वितरण गरेको हो ।
करिब १ महिना अघि नै राहत वितरण गर्ने तयारी गरे पनि धरान उपमहानगरपालिकाले वितरण गर्न पाइदैन भने पछि राहत वितरण कार्य स्थगित गरिएको अध्यक्ष राईले बताइन् । धरान १५ वडा कार्यलयले हालसम्म तिनपटक राहत वितरण गरेको बताउँदै यसरी विभिन्न संस्थाहरू समेतको सहयोगले समस्यामा परेकाहरुलाई राहत पु्याउन अझ सहज भएको १५ नं वडाका अध्यक्ष नरेश इवारमले बताए । ‘यसरी विभिन्न संस्थाहरूले राहत दिँदा वडा कार्यलय समेतलाई सहज भएको छ,’उनले भने,‘हालसम्म वडाले नै तिनपटक राहत वितरण गरेको छ ।’ गत जेठ १५ र १६ गतेमात्र तेश्रो चरणको राहत वितरण भएको छ ।