धरान: सामाजिक कार्यको लागि स्थापना भएको होप धरान संस्थाले धरान १५ नौलो पथस्थित आगलागी भएको घरमा भाडामा बस्ने परिवारलाई राहत प्रदान गरेको छ ।
संस्थाले शनिबार उनकै निवासमा गएर ७ हजार रुपैया वरावरको खाद्यान्न र ३ हजार रुपैया नगद प्रदान गरेको हो । नगद सहयोग होप धरानकी सल्लाहकार शिला बज्रचार्यले २ हजार र होप धरानका सदस्य रोमा खतिवडाले नगद १ हजार रुपैया सहयोग गरेका थिए । गएको विहिवार भएको आगलागी घटनामा माथिल्लो तलामा बस्ने घरधनी वृद्धा र छोरीको ज्यान गएको थियो । उक्त घरमा घर भुँईतलामा भाडामा बस्ने सविता लिम्वुको परिवारलाई राहत प्रदान गरिएको होप धरानका अध्यक्ष निश्चल पलिखेले जानकारी दिए ।
उनीहरुको पाँच जनाको परिवार रहेको छ । होप धरानको सदस्य राकेश खड्कीको संयोजनमा सहयोग सामग्री संकलन गरिएको थियो । राहत वितरण होप धरानको आयोजना तथा कोभिड १९ धरान एक्सन एण्ड अवेरनेस ग्रुपको बिशेष सहयोगमा प्रदान गरिएको अध्यक्ष पलिखेले जानकारी दिए । राहत वितरणमा सुनसरी उद्योग वाणिज्य संघ तथा महिला सञ्जालकी सदस्य शुभेच्छा अधिकारी पनि उपस्थिति रहेको थियो ।