धरान: नेपाल पत्रकार महासंघ सुनसरीले लकडाउनका कारण समस्यामा परेका एक विपन्न परिवारलाई शनिवार राहत प्रदान गरेको छ ।
धरान ६ न. वडा पानबारीस्थित चन्द्रकला राईको परिवारलाई महासंघले राहत प्रदान गरेको हो । उनकै निवासमा गएर महासंघ सुनसरीका अध्यक्ष विकास चाम्लिङ राई, सचिव शिसिर राई र नेपाल पत्रकार महासंघका प्रदेश १ पार्षद राणध्वज लोहारले राहत प्रदान गरेका हुन । राहत सामग्री स्वरुप २० केजी चामल, २ केजी चना, १ केजी मटर, १ केजी दाल, १ लिटर तेल, एक केजी नुन, विस्कुट र चकलेट प्रदान गरिएको थियो ।
कोरोना भाइरसको कारण लागु गरिएको लकडाउनको कारण दैनिक गुजारा गर्न समस्यामा परेकि राईकी श्रीमान दुई वर्ष अघि वितेका हुन् । हाल उनको परिवारमा दुई छोरा, एक बुहारी र एक नाती रहेका छन् । जेठो छोरा असक्त विरामी भए पनि आर्थिक अवस्था कमजोर भएकाले उपचारको लागी अस्पताल पुर्याउन सकेका छैनन् । कान्छो छोरा दैनिक विद्युत सम्बन्धी ज्यालादारीमा काम गर्ने भएपनि लकडाउनको कारण काममा जान नसकेको उनी बताउँछिन् ।
चन्द्रकला राई आफै पनि अशक्त छिन । दुई वर्ष अघि मात्र नशा सम्बन्धी समस्या भएर देब्रे खुट्टाको घुँडा मुनि काटिएको छ । उनी नियमित औषधी सेवन गर्छिन् । नेपाल पत्रकार महासंघका प्रदेश पार्षद लोहारको पहलमा उक्त खाद्यान्न प्रदान गरिएको हो ।