धरान: कोरोना महामारी र लकडाउनको कारण कुवेतबाट फर्किएका प्रदेश एकका ९३ जना महिलाहरु सुनसरीको चतरास्थित होल्डिङ केन्द्रमा आइपुगेका छन् ।
प्रदेश सरकारले भारतबाहेक अन्य मुलुकबाट आएका आफ्ना नागरिकहरुलाई केही समय होल्ड गरेर राख्नको लागि चतरामा होल्डिङ केन्द्र बनाएको छ । सरकारले चतरास्थित रामानन्द सेवा पीठलाई होल्डिङ केन्द्र बनाएको छ । प्रदेशस्तरीय होल्डिङ व्यवस्थापन उपसमितिका सदस्य रवि खनालका अनुसार होल्डिङ केन्द्रमा आइपुगेका महिलाहरुलाई सम्बन्धित जिल्लासँग समन्वय गरेर पठाइनेछ । ‘होल्डिङ केन्द्रमा ९३ जना कुवेतबाट आउनुभएका प्रदेश १ का नागरिकहरु आइपुगेका छन्, उहाँहरुलाई आ आफ्नो जिल्लामा पठाइनेछ,’खनालले भने ।
केन्द्रका अनुसार ९३ जना महिलाहरु प्रदेश १ का १४ जिल्लामध्ये ११ जिल्लाका छन् । ती मध्ये सबैभन्दा बढी झापाका ३७ जना छन् । यस्तै, मोरङका २१ जना, सुनसरीका १८ जना, इलामका ४ जना छन् । यस्तै, सोलुखुम्बु र पाँचथरका ३/३ जना छन् भने ताप्लेजुङ र तेह्रथुमका २/२ जना छन् । यसैगरि, धनकुटा, भोजपुर र खोटाङका १/१ जना छन् ।