धरान: कान्छी श्रीमति र छोरालाई मरणासन्न हुने गरी कुटपिट गर्ने एक व्यक्ति धरान १७ बाट पक्राउ परेका छन् ।
धरान १७ चतरामार्गका मदन राई पक्राउ परेका हुन् । उनले शुक्रबार दिउँसो आफ्नी कान्छी श्रीमति र करिब १६ बर्षीय छोरालाई पाइपले कुटेर मरणासन्न बनाएका थिए । उनको कुटाईबाट छोरा गम्भीररुपमा घाइते भएको स्थानीयबासीले बताएका छन् । श्रीमानबाट पहिलादेखि नै पीडित भएपनि डरले कतै उजुर नगर्ने स्थानीयको भनाई छ । ‘पहिलादेखि नै श्रीमतिलाई कुटिरहने हो, डरले कतै उजुर गर्न मान्दैनन्,’ती छिमेकीले भने,‘आज त छोरा र श्रीमतिलाई नै असाध्यै नराम्रो गरी कुटेछन् ।’
स्थानीयका अनुसार मदन राई ट्याक्टर चलाउछन् । नेकपाका नेताहरुसँग चिनजान भएकोले उनको विरुद्ध स्थानीयबासी पनि बोल्न डराउछन् । विगतमा उनी पुर्वमाओवादीमा सक्रिय थिए । श्रीमति पनि आफुमाथि हिंसा भएको कतै उजुर गर्न सक्दैनन् । ‘जनप्रतिनिधिहरु पनि मदनको विरुद्ध एक वचन बोल्दैनन् । प्रहरी त उसकै साथी छ, त्यसैले अहिलेसम्म कुनै कारबाही भएको छैन,’नाम नखुलाउन आग्रह गर्दै स्थानीय भन्छन् ।
वडा नं १७ का अध्यक्ष मनोज भट्टराईले छोरालाई कुटेको खबर आएपछि तत्काल प्रहरीलाई पठाएर पक्राउ गरिएको बताए । आफ्नै सन्तान भएपनि जथाभावी कुट्न नपाइने उनले बताए । ‘प्रहरीले पक्राउ गरेर लगेको छ, नाबालक छोरालाई उपचार गरिएको छ,’अध्यक्ष भट्टराईले भने । प्रहरीका अनुसार पैसा र मोवाइल चोरेको भन्दै छोरालाई मरणासन्न हुने गरी पाइपले कुटेका छन् । ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले छोरालाई कुटेको भन्ने खबर आएपछि पक्राउ गरेर ल्याएको बताए । ‘उजुरी आयो भने कानुनी कारबाही हुन्छ,’उनले भने ।